सोखमै सीमित रंगकर्म

वैशाख १४, २०८० |विनोद घिमिरे
सोखमै सीमित रंगकर्म

धनकुटा । वास्तुकला, मूतिकला र संगीत कलाजस्तै चित्रकला पनि ललितकलाको उत्कृष्ट विधा हो । हाम्रो सभ्यता र संस्कृति जति पुरानो छ त्यति नै पुरानो सम्बन्ध चित्रकलासँग पनि छ । नेपाली चित्रकलाको विकासक्रमले विभिन्न आयाम र चरणहरू पार गरिरहँदा मुख्य सहर बाहिरको चित्रकारिता भने आजसम्म पनि सोखमै सीमित छ ।

धनकुटा सिरवानीका डिल्लीकृष्ण आलेको चित्रकला साधनाले चार दशकको यात्रा पार गरेको छ । किशोर अवस्थामा समाएको कुची र रंगको इन्द्रेणीले ६६ वर्षको उमेरमा पनि उनलाई छायाले झै पछ्याइरहेको छ । आलेले यो अवधिमा कला, साहित्य, आजीविका, सुखदु:ख, हाँसो र रोदनजस्ता समाजका हजारौं चरित्रलाई मूर्त, अमूर्त रूपमा क्यानभासमा उतारेका छन् । सोखमा बिताएको ४० वर्षे चित्रकला साधनाले उनलाई शब्दमा वर्णन गर्न नसकिने आत्मसन्तुष्टि दिएको छ । तर यो अवधिसम्म पनि मोफसलको रंगकर्मले सामाजिक हैसियत र व्यावसायिक बाटो समाउन नसकेकामा भने उनी खिन्न छन् ।

हुन त कला र साहित्य सीधै अर्थसँग जोडिने विषय होइन । तर चित्र बनाएर हुने आम्दानी र प्रवर्द्धनको विगतदेखि हालसम्मकै पाटो भने निराशाजनक छ । मोफसलको चित्रकलाले जागरण र प्रवर्द्धनका लागि अभिभावकत्व खोजिरहँदा ललितकला प्रज्ञा प्रतिष्ठानका गतिविधि केन्द्रमै सीमित छन् । प्रदेश र स्थानीय सरकारको प्राथमिकतामा रंगकर्म परेकै छैन ।

राजधानी र ठूला सहरबाहिर प्रदर्शनी र प्रतियोगिताका गतिविधि शून्यप्राय: छन् । त्यसैले मोफसलका सर्जकले एक्सपोजर पनि कमै पाउँछन् । यसले रंगकर्ममा लागेको पुरानो पुस्तालाई सम्मान र प्रोत्साहन तथा नयाँलाई आकर्षण दिन सकेको छैन ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।