‘खोई तिम्रा नयाँ गीतहरू हेरुँ त ।’ नारायणगोपालले भने ।
‘के हुनु यही त हो नि ।’ राममानले गीतको डायरी दिए । गोपाल योञ्जन केही बोलेनन् । दुवैलाई हेरिरहे मात्र ।
‘ए, के गरेको....... नगर...... नगर ।’ बल्ल गोपाल योञ्जन बोले । उनले नारायणगोपालको हातबाट गीतको डायरी हत्तपत्त खोसे । भएछ के भने, गीतको एउटा पाना नारायणगोपालले च्यात्न खोजेछन् ।
‘किन च्यात्न खोजेको ?’ राममानले झोक्किदै सोधे ।
‘मैले च्यातिनँ भने, यो गीत तिमीले शिवशंकरलाई दिन्छौं, त्यही भएर ।’ नारायणगोपाल च्याठ्ठिए । त्यसताका राममान र शिवशंकरको राम्रै हेलमेल थियो ।
गोपाल योञ्जनले आफूले राममानलाई भनेर गीत शिवशंकरसम्म पुग्न नदिने बताएपछि मात्र नारायणगोपाल शान्त भएछन् ।
यो विक्रम सम्वत २०३२–३३ सालतिरको कुरा हो । जतिखेर डाक्टर राममान तृषित, स्वर सम्राट नारायण गोपाल र संगीतकार गोपालयोञ्जन नेपाली गीत संगीतको क्षेत्रका जुझारु युवा थिए । संघर्षशील र नेपाली सुगम संगीतमा केही नयाँ गरौं भन्ने हुटहुटीकासाथ काम गरिरहेका ।
नेपाली गीत संगीतमा त्यही समयमा हो अनेकन् कालजयी गीतहरूको आगमन भएको । त्यसपछि पनि नयाँ नयाँ नेपाली आधुनिक गीतहरू नआएका होइनन् तर तिनीहरूले आफ्नो दीर्घायु लिएर आएको भने देखिएन ।
त्यस दिन त्यो गीत गोपाल योञ्जनले सारेर लगेछन् र आफ्नै संगीतमा कम्पोज गरेछन् । पछि त्यो गीत नारायणगोपालले गाए र धेरै चर्चित पनि भयो । आजसम्म त्यो गीत उत्तिकै चर्चित छ, र उत्तिकै कर्णप्रिय र मर्मस्पर्शी पनि –
मैले पुण्य मन पराएँ
या पाप मन पराएँ
जेहोस मैले तिमीलाई
चुपचाप मन पराएँ ।
‘नारायणगोपाल मात्रै साहित्य बुझ्थे ।’ यी र यस्ता सयौं गीतका शक्तिशाली श्रष्टा डाक्टर राममान तृषितले भने, ‘अहिले योगेश वैद्यले साहित्य बुझ्छन् ।’ धेरै नेपाली गायकले साहित्य नबुझ्ने राममानले मलाई पटक पटक बताएका छन् । हुन पनि गीतको सामर्थ्य बुझ्न र गीतलाई गीतकारकै बुझाइको तहमा स्रोतासम्म पुर्याउन हरेक गायकले साहित्य बुझ्न जरुरी छ ।
नारायणगोपाल आफूले गाएका अघिल्ला गीतहरूमै सन्तुष्ट भएर एकैनासको शैलीमा रमाउने स्वभावका कलाकार थिएनन्। उनी त स्वर र सुरमा मात्र होइन गीतका शब्दमा पनि नयाँ आयाम दिन चाहन्थे। त्यसैका लागि उनले कालखण्डपिच्छे गीतकार र संगीतकारहरू फेर्दै हिंडे । आफैंले संगीत गरेका गीतहरू गाएर गायकी सुरु गरेका नारायणगोपालले नेपालका धेरै गीतकार र संगीतकारलाई स्थापित गरिदिए । त्यसै मध्येका एक हुन् डा. राममान तृषित । गोपाल योञ्जनको गीत–संगीतबाट स्थापित भएका उनले कालीप्रसाद रिजाल, राममान तृषितका गीतहरू गाए । आफूभन्दा साना दिव्य खालिङ, दीपक जंगम, शम्भुजित बाँस्कोटाका संगीतमा उनले विश्वम्भर प्याकुरेलदेखि दिनेश अधिकारीसम्मका गीतलाई कर्णप्रिय बनाइ दिए।
गीतकार राममान तृषितले नारायणगोपाललाई साहित्य बुझ्ने गायकका रुपमा चिन्दथे ।
‘बुझ्छु भन्नु र साच्चिकै साहित्य बुझ्नु फरक कुरा हो ।’ राममानले थपे, ‘गायकले बुझेको साहित्यले मात्रै गीतलाई जोगाउँदो रहेछ ।’
६७ वर्षका बुढा गीतकार हौसिँदै गए, ‘मेरै कुरा गर्नू न अब, सयौं गीत छन् मेरा । सबै आफूलाई एकसे एक लाग्छन् । तर मानिसहरूले यही गीत ज्यादा मन पराए ।’
उनले मैले पूण्य मन पराएँ या पाप मन पराएँ भन्ने गीतकै कुरा निकाले ।
‘यो गीतमा के छ त्यस्तो ?’ मैले सोधें ।
‘प्रेम छ । प्रेमको शक्ति र सामर्थ्य छ ।’ कुनै बेला चिकित्सकका रुपमा प्रख्यात यी गीतकार कान कम सुन्थे । बोलिरहन र हिँड्नलाई शरीरले उति साह्रो साथ दिँदैनथ्यो । सयौँ बिरामीलाई शारीरिक रुपमा उपचार गरेका डाक्टर राममानको आफ्नै शरीरले बेला-बेलामा उनी स्वयंलाई दुःख दिन्थ्यो ।
‘प्रेममा दर्शन होइन, अनुभूतिले काम गर्छ भन्ने कुराको प्रमाण हो यो गीत ।’ नेपथ्यमा त्यही गीत बजिरहेजस्तो म डाक्टरसाबका कुराहरू सुनिरहन्छु –
तिमीसँग लिनु पनि छ
तिमीलाई दिनु पनि छ
हाम्रो हिसाब किताबमा
सच्याउनु पनि छ
यो हिसाब भुलेर तिमीलाई
बेहिसाब मन पराएँ ।
‘त्यो गीत लेख्दा तपाईंको मूड चाहीँ कस्तो थियो ?’ मैले फेरि सोधें ।
‘कस्तो हुनु ? जस्तो अरु गीत लेख्दा हुने गर्थ्यो त्यस्तै मूड थियो । तर प्रेममा सबै कुरा जायज छ भन्ने चाहीँ मलाई लाग्दथ्यो ।’
‘प्रेममा सबै कुरा जायज रहेछ त ?’ रोग र उमेरको वार्धक्यले एकसाथ पेलिएका गीतकारसँग मैले सोधें ।
‘शक्ति र सामर्थ्य भनेको यही प्रेममा त रहेछ नि । पैसा, प्रतिष्ठा र उमेर भनेको त के नै पो रहेछ र ?’ गाँठी कुरा खोले राममानले,‘ प्रेम बाहेक सबैले एकदिन छाडेर जाँदो रहेछ । प्रेममा मानिसले छाडे पनि अनुभूति रहिरहँदो रहेछ ।’
मरेर प्रेम सकिँदैन पनि । प्रेमको अनन्तता र सामर्थ्य अनुभूतिमा हुन्छ ।
जीवनमा लामो समय चिकित्सक रहेका राममानले राम्रा धेरै कालजयी गीत लेखेका छन् । प्रशस्त भजन लेखेका छन् । छोटा कविताहरू पनि उत्तिक्कै मीठा छन् । उनको कृतिकै संख्या पनि एक दर्जनभन्दा बढी छ । तर हजारौंले उनलाई यही ‘मैले पुण्य मन पराएँ या पाप मन पराएँ‘ गीतबाट नै चिन्छन् । नपत्याउदो किसिमले उनका अरु धेरै शक्तिशाली गीतहरू ओझेलमा परेका छन् ।
‘एउटा सुन्दर र शक्तिसम्पन्न गीतले अरु धेरै गीतहरूलाई गुमनाम पार्दो रहेछ हगि ?’ मैले अनुभव सुन्न चाहेँ । उनले धेरै हदसम्म यो कुरालाई स्वीकार पनि गरे । तर भने, ‘गीतको शक्ति भनेको प्रेमको शक्ति जस्तो हो । यसलाई लुकाउन दबाउन सकिँदैन ।’
‘त्यसो भए तपाईंका अरु गीतले किन चर्चा पाएनन् त ?’
‘चर्चा पाएका छन् । तर यो गीतले अलि बढी पायो त्यति मात्र हो ।’ उनले भनेपछि मैले उनका अरु चर्चित गीतहरू सम्झिएँ ।
– मान्छेको माया यहाँ खोलाको पानी जस्तो ।
– एउटा तारा झर्दा पनि सिङ्गो आकाश रित्तो हुन्छ ।
—तिम्रो पनि माया लाग्छ, उनको पनि माया लाग्छ ।
उनका यस्ता धेरै गीतहरू चर्चित छन् । वास्तवमा गीत संगीतमा मान्छेको त्यो संवेग मिसिएको हुन्छ जो अत्यन्त कोमल र भावुक छ । पीडा आँसु, खुसीको समिश्रण व्यक्त गर्ने माध्यमले हरेकलाई भित्रैसम्म छोएको हुन्छ ।
वि.स. २०६७ को अन्तिमतिर मैले अन्तिम चोटी डा. राममान तृषितलाई भेट्दा उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको थियो । स्वास्थ्यमा देखिएको सुधारसँगै उनको मन पनि चंगा भएको थियो । उनी पहिलेको भन्दा बढी खुसी र सहज देखिन्थे । त्यसताका साहित्यिक कार्यक्रमहरूमा पनि उनी सहभागी हुन थालेका थिए ।
‘हिँड्यो भने तपाईंहरूसँग भेट हुन्छ र कुरा हुन्छ । आफूलाई फेरि जवान भएजस्तो लाग्छ ।’ उनी मस्किएका थिए ।
नसोध मैले बरदान या श्राप मन पराए
जेहोस् मैले तिमीलाई चुपचाप मन पराए
तर अहिले यस्ता कालजयी गीतका सर्जक राममान छैनन् । यही गीत गाउने स्वरसम्राट नारायणगोपाल पनि दशकौं पहिले हामीबाट टाढा भए । तर उनको गायकीमा रहेको फरक र दर्द भरिएको स्वर अहिले नयाँ पुस्तामा पनि उत्तिक्कै लोकप्रिय छ । शक्तिशाली गीतका स्रष्टा राममान तृषित बितेको पनि वर्षौं भयो । वि.स.२०६८ जेठ १७ गते उनको निधन भयो । मिर्गौला रोगसँग लड्दालड्दै उनले सदाका लागि महाप्रस्थान गरे ।
राममानसंग मैले ‘पूण्य मन पराएँ या पाप मन पराएँ’ भन्ने गीतको बारेमा कुरा गरेको पनि एक दशकभन्दा बढी भयो । तर उनका गीतहरू अहिले पनि उत्तिकै मिठास छरेर बजिरहेका छन् । उनका गीतप्रति आम स्रोताको आकर्षण उस्तै छ । नेपाली सुगम संगीतको कुरा गरिरहँदा उनलाई बिर्सिन सकिँदैन । कतै गीत बजिरहेको सुन्दा राममानको सम्झना ताजा भएर आउछ र भने झै लाग्छ,
एउटा तारा झर्दा पनि सिङ्गो आकाश रित्तो हुन्छ ।
ट्वीट : @LohaniMani
स्केच : दीपक गौतम/कान्तिपुर