पोखरा । पर्यटनको राजधानी पोखरालाई सफा र हराभरा बनाउन महानगरपालिकाको पहल अपुग रहेको स्थानीय सरोकारवालाहरुले गुनासो गरेका छन् ।
कान्तिपुर टेलिभिजनको ‘महानगर महाबहस’ कार्यक्रममा सहभागीले पोखराको आकर्षण फेवाताल फोहोर बन्दै गएकोप्रति महानगरको ध्यान नपुगेको आरोप लगाएका छन् ।
वर्षैभरि आन्तरिक तथा बाहृय पर्यटकको बाक्लो आवागमन हुने पोखरा शहरलाई पर्यटनमैत्री बनाउन महानगर चुकेको आरोप स्थानीयले लगाएका हुन् । फोहोरमैला व्यवस्थापनदेखि, व्यापारीले पर्यटकलाई दिने सास्तीलाई महानगरले नजरअन्दाज गरेको पर्यटन व्यवसायीले गुनासो गरेका छन् ।
‘फेवातालको किनारमा रात्रिकालिन व्यवसाय गर्ने झोले व्यापारीका कारण लेकसाईडमा बस्ने पर्यटकलाई सास्ती भएको छ,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले गुनासो गर्नुभयो ।
विन्देश्वरी मा.वी पोखरा-१९ का शिक्षक श्रीराम आचार्यले महानगरपालिकाले शिक्षामा विनियोजन गरेको बजेटले महानगरकै दुर्गम मानिने क्षेत्र भने प्राथमिकतामा नपरेको गुनासो गर्नुभयो । उहाँले बजेटलाई सबै क्षेत्रमा समावेशी बनाउन सक्नुपर्ने सुझाव समेत दिनुभएको छ ।
महानगर महाबहसमा उठेका विषयमा जवाफ दिनुहुँदै प्रमुख धनराज आचार्यले आफूलाई समस्या पहिचान गर्न समय लागेकाले गुनासो स्वाभाविक भएको बताउनुभयो । उहाँले अब नतिजामुखी काम हुँदै जाने र बाँकी कार्यकालमा आफूले उठाएका विषय पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
‘सुरु गर्ने कहाँबाट त भनेर पत्ता लगाउन पनि हामीलाई १८ महिना लाग्यो । त्यस कारणले पनि हामीले सबैकुराको आधार बनाएका छौं । यो सबै आधारबाट अब हामी माथिल्लो गियरमा कुदायौं भने हामी यसलाई तोकिएको ठाउँमा पुर्याउन सक्छौं भन्ने मलाई विश्वास छ,’ प्रमुख आचार्यले भन्नुभयो ।
कार्यक्रम महानगर महाबहसमा प्रमुख आचार्यले साझा प्रयत्नबाट मात्र समस्या समाधान हुने बताउनुहुँदै स्थानीयबासी तथा सरोकारवाला संघसंस्थासँग सकारात्मक सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित सरोकारवालाहरुसँगको बहस समेटिएको कार्यक्रम 'महानगर महाबहस' आज राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । साथै, कान्तिपुर टेलिभिजनको एप र युट्युब च्यानल पनि कार्यक्रम हेर्न सकिन्छ ।
हेर्नुहोस् वीरगंज उपमहानगरको 'महानगर महाबहस'हेर्नुहोस् जनकपुरधाम उपमहानगरको 'महानगर महाबहस'हेर्नुहोस् विराटनगर महानगरको 'महानगर महाबहस'