आफैं सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने काम भइरहेको छ : प्रधानमन्त्री ओली

मंसिर ७, २०८१ |अवतार राई
आफैं सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने काम भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अराजकता मौलाएको बताउनु भएको छ । 

नेकपा एमालेले 'जागरण सभा' नाम दिएर काठमाडौंको दरवारमार्गमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जसले जे पनि बोल्ने, जे पनि लेख्ने र जे पनि आरोप लगाउने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गर्नु भयो । 

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै 'आफैं सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने काम भइरहेको छ,' भन्दै कटाक्ष गर्नुभयो । 

यस्तै, ओलीविरुद्ध अभियान नै चलाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंप्रति उहाँले नाम नलिईकन आक्रोश पोख्नु भयो,  'आफू बदमासी गर्ने, अरुको टाउकोमा खन्याउने र भ्रम फैल्याउनेहरुलाई नियन्त्रण गरिनेछ । केही मान्छेहरु हात्तीको बथानमा नाङ्लो ठटाउँदैछन् ।' उहाँले एमाले हात्ती भएकाले नाङ्लो ठटाउनेहरुको वास्ता नगर्ने बताउनु भयो ।

उहाँले आरोप लगाएका विषयमा अनुहार जुधाएर कुरा गर्न सक्ने ताकत भए अगाडि आउन चुनौतीसमेत दिनु भयो । 

'कसैले सातपुस्ता पुग्ने रकम जम्मा गरेर हामीलाई आरोप लगाउने ?' भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले कसले कति अकुत सम्पति जम्मा गरेको छ बसेर छलफल गर्न तयार रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले कसैको पनि अनुहार नहेरी अपराध गर्नेलाई एमाले नेतृत्व सरकारले नछाड्ने चेतावनी दिनु भयो ।


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement