कर्णाली राजमार्ग ४ दिनदेखि अवरुद्ध, करोडौं मूल्यको स्याउ बोकेका सवारी बाटोमै रोकिए

भाद्र १५, २०८१ |कमल पन्त
कर्णाली राजमार्ग ४ दिनदेखि अवरुद्ध, करोडौं मूल्यको स्याउ बोकेका सवारी बाटोमै रोकिए

सुर्खेत । चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौं मूल्य बराबरको स्याउ बोकेका सवारीसाधान अलपत्र परेका छन् । कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएपछि स्याउ बोकेका मालबाहक ट्रकहरु बाटोमै अलपत्र परेका हुन् । राजमार्ग अबरुद्ध हुँदा यात्रुहरु पैदल हिडेर गन्तव्यतर्फ लागेपनि मालबाहक ट्रकहरु बाटोमै रोकिएपछि करोडौँ मूल्य बराबरका स्याउ कुहिने जोखिम बढेको छ । 

पहिरोले चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध छ । जुम्ला, कालिकोट र हुम्लाबाट स्याउ बोकेर सुर्खेत, नेपालगञ्ज र काठमाडौाका लागि हिडेका ट्रकहरु पहिरोका कारण बीचबाटोमै रोकिएका छन् । बाटो खुल्न अझै केही दिन लाग्ने भएकाले स्याउ बाटोमै कुहिने जोखिम बढेको छ ।

बाटो अवरुद्ध भएपछि स्याउ बोकेका करिव एक सय ५० भन्दा बढी ट्रकहरु बाटोमै रोकिएका छन् । कालिकोट खण्डमा मात्रै एक सय भन्दा बढी स्याउ बोकेका ट्रकहरु रोकिएको प्रहरीले जनाएको छन् । एउटा ट्रकले करिव १२ लाख बराबरको स्याउ बोकेका छन् । राजमार्ग अबरुद्ध भएपछि किसान स्याउ खरिद गरेका व्यवसायी भने घाटामा जाने बताउाछन् भने किसान बगैंचाबाट टिपेको स्याउसमेत भण्डारण गर्नसमेत असहज भइरहेको छ ।

हरेक वर्ष वर्खायाममा कर्णाली राजमार्ग अवरुद्ध हुँदै आएको छ । कर्णाली राजमार्गको विकल्प खोज्नुपर्ने भन्दै संघीय संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश गरेर कर्णाली जनप्रतिनिधि र प्रदेश सरकारले भने अब कर्णाली राजमार्गको विकल्प खोज्नुपर्ने बताउँछन् ।

अबको तीन दिनसम्म पनि सडक नखुले स्याउ कुहिन्छन् । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार यो वर्ष जुम्लामा मात्र १५ हजार मेटि्रकटन स्याउ उत्पादन हुने र करिव १० हजार मेटि्रक टन निर्यात हुने अनुमान गरेको छ । स्याउ बिक्रीबाट हरके वर्ष जुम्लाले ४० करोड आम्दानी गर्दै आएको छ ।


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।