पाक्यो जुम्लाको स्याउ, भण्डार र बजारीकरणमा राज्यको वेवास्ता

भाद्र ९, २०८१ |डीबी बुढा
पाक्यो जुम्लाको स्याउ, भण्डार र बजारीकरणमा राज्यको वेवास्ता

जुम्ला । जुम्लामा लगाइएको स्याउ पाक्न थालेको छ । विगतका वर्षमा भन्दा यस वर्ष छिटो स्याउ पाकेपछि किसानले बजार पुर्‍याउन थालेका छन् । किसानको बगैंचामा लटरम्म फलेको स्याउले जुम्ला राताम्ये जस्तै बनेको छ ।

अधिकांश समय फुङ्ग उडेको सुख्खा जस्तै देखिने जुम्ला यो समयमा स्याउ पाकेर मनोरम देखिएको छ । हरेक जसो घरको बगैंचामा लगाइएको स्याउ पाक्न थालेको छ । किसानले धमाधम स्याउ टिपेर बिक्रीका लागि सुर्खेत र नेपालगञ्ज जस्ता शहरमा पठाउन थालिसकेका छन् ।

यो वर्ष बगैंचामै प्रतिकिलो ७० रुपैयाँमा स्याउ बिक्री हुँदै आएको छ । स्याउले छिटो रंग दिएको र चिनीको मात्रा पनि छिटै पुगेकाले यो पटक एक हप्ता अघिदेखि नै स्याउ टिप्न थालिएको हो । स्याउ खरिद गर्न व्यापारीहरु बगैंचामै पनि पुग्ने गरेका छन् ।

जुम्लामा रेड, रोयल र गोल्डेन जातको स्याउ बढी उत्पादन हुन्छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लामा ३ हजार ९ सय हेक्टरमा स्याउ रोपिएको छ । झन्डै १९ हजार घरधुरीमा स्याउ बगैंचा छ । यो वर्ष जुम्लामा १५ हजार टन स्याउ उत्पादन हुने अनुमान छ । उत्पादनको आधा मात्र बाहिरी जिल्लामा पठाउन सकिए पनि झन्डै ४० करोड रुपैयाा जिल्ला भित्रिने अनुमान कृषि विकास कार्यालयको छ ।

जुम्लामा उत्पादित स्याउ सुर्खेत, नेपालगञ्ज, बुटवल, भैरहवा, काठमाडौं लगायतका सहरहरुमा बिक्रीका लागि पठाइने गरेको छ । स्याउको भण्डार र बजारीकरणका लागि राज्यले चासो नदेखाएको किसानहरुको गुनासो छ ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।