मोरङ । देशमा लोडसेडिङ अन्त्यको घोषणा भएको ६ वर्ष बितिसक्दा पनि सुनसरी र मोरङको औद्योगिक क्षेत्रमा त्यसको प्रत्याभूति भएको छैन । सरकारले २०७५ साल वैशाख ३१ गते नै सरकारले लोडसेडिङ अन्त्यको घोषणा गरेको थियो । तर, सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा भने छिनछिन्मा झ्याप्पझ्याप्प विजुली जाने गरेको छ । बिना सूचना दैनिक पाँच घण्टासम्म यसरी विजुली जाँदा उद्योगीले नोक्सानी मात्र बेहोर्नुपरेको छैन, नागरिकले सास्तीसमेत भोग्नुपरेको छ ।
आसपासका वस्तीमा पनि यही समस्या छ । जुनसुकै समयमा झ्याप्प विजुली जाने र आउने गर्दा उपभोक्तालाई सास्ती छ । लाइन आएकै बेला पनि कम भोल्टेजको विजुलीले उद्योग सञ्चालनमै समस्या भएको गुनासो उद्योगीको छ ।
दैनिक सरदर पाँच घण्टा बिजुली नदिँदा पनि नेपाल विद्युत् प्राधिकरण भने लोडसेडिङ भन्न चाहँदैन । नत लोडसेडिङको तालिका नै सार्वजनिक गर्छ । रानी सवस्टेशन र टंकी सवस्टेसनमा ट्रान्सर्फमर परिवर्तन र मर्मतसम्भारको काम भइसकेकाले केही समय विजुली काट्नुपरेको जिकिर प्राधिकरणको छ ।
प्राधिकरणले विजुली काट्नेबारे पूर्वसूचना दिने गरेको छैन । अपर्झट लाइन काट्ने र जोड्ने गर्दा घरायसी विद्युतीय सामग्री बिगि्रने र नष्ट हुने गरेको गुनासो उपभोक्ताको छ । यस्तै उद्योग कलकारखानाका मोटर जल्ने, प्यानल बोर्ड सर्ट हुने, एमसीभी बिग्रीरहने, महंगा मेसिनहरू जल्ने गर्दा उद्योगीले ठूलो नोक्सानी बेहोर्नुपरेको छ ।