चियाको ब्राण्डिङमा युवा पुस्ता

भाद्र ३, २०८१ |सुमन पन्थ
चियाको ब्राण्डिङमा युवा पुस्ता

काठमाडौं । नेपालमा चिया भित्रिएको १ सय ६० वर्षभन्दा बढी भइसकेको छ । बिहान उठ्नेबित्तिकै होस् या साथीभाइ आफन्तसँगको जमघट, अथवा सत्कारमा, आज चिया नेपाली संस्कृति नै बनिसकेको छ । अझ नेपाली चिया त विश्वमै विशिष्ट प्रकारको रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । पछिल्ला वर्ष नेपाली चियाको ब्राण्डिङमा युवा पुस्ता नै लागेको छ । वैदेशिक रोजगारीबाट फर्किएकादेखि स्वदेशमै नवउद्यम गर्नेहरुसम्मले चियाको व्यापार रोजेका छन् ।

१९ वर्षसम्म कोरिया बसेर फर्किएका ताप्लेजुङका प्रेम गुरुङले सुरु गरेको घैंटे चिया अहिले काठमाडौंमा ब्राण्ड नै बनेको छ । दूध डढाएर चार घण्टासम्म पकाएपछि घैंटे चिया तयार हुन्छ । नेपाली मौलिक चियालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउनका लागि घैंटे चिया अवधारणा ल्याइएको गुरुङको भनाइ छ ।

घैंटे चिया खान स्वदेशीदेखि विदेशीसम्म आउने गरेका छन् । यसले मौलिक चियाको स्वाद मेटाएको ग्राहकहरु बताउँछन् ।

काठमाडौं र ललितपुरमा सञ्चालित तीनवटा घैंटे चियाका पसलले ५० जनालाई रोजगारी दिएको छ भने लगानी २० लाखभन्दा बढी छ । जसले मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी दिइरहेको छ । यसलाई देशका विभिन्न शहरमा विस्तार गर्ने योजना छ ।

अहिले काठमाडौं उपत्यकामा एक दर्जनभन्दा बढी ब्राण्डका चिया पसल खुलेका छन् । इरानी चिया, मट्का चिया, वेन टि, चिया वाला, चिया सागर, चिया साथी, चिया अड्डा, चिया चौतारी जस्ता पसल खुलेका छन् । यस्ता पसलले नेपाली मौलिक चियालाई रिब्राण्डिङ गरेका छन् । विद्यार्थीदेखि पेशा-व्यवसाय गरिरहेकाहरुको जमघटको थलोका रुपमा लोकप्रिय यस्ता चियापसल बढेसँगै चियाको व्यापार पनि बढेको छ ।

अहिले नेपालमा सिटिसी चिया लोकप्रिय छ, जुन दुध हालेर खाने चिया हो । नेपालका ३० जिल्लामा २ करोड केजी चिया उत्पादन हुने गरेकोमा ५५ प्रतिशत स्वदेशमै खपत हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांक छ । अर्थोडक्स चियाले भने अन्तर्राष्ट्रिय बजारमा ख्याति कमाएको छ । नेपाली चियालाई पुनः ब्रान्डिङ गर्ने हिसाबले सञ्चालन गरिएका यस्ता चियापसलहरुले चियाको आन्तरिक खपत त बढाएका छन् नै, रोजगारीको अवसरसमेत सिर्जना गरेका छन् । 


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement