१० किलो धानमा दिनभर श्रम

श्रावण २५, २०८१ |अनिल मिश्र
१० किलो धानमा दिनभर श्रम
धनुषा । सरकारले दलित समुदायको उत्थान र विकासका लागि वार्षिक करोडाैं खर्चदै आएको छ । तर, धनुषाका विभिन्न गाउँमा पुस्तौंदेखि बस्दै आएका दलित तथा पिछडिएका समुदायले राज्यको सेवा सुविधा समेत पाउन सकेका छैनन् । सरकारले मजदुरको न्यूनतम दैनिक ज्याला नै ६ सय ६८ रुपैयाँ निर्धारण गरिदिएको छ । त्यो पनि आठ घण्टाको । तर, यहाँका श्रमिक बिहानदेखि बेलुकासम्मै काम गरेर दैनिक १० किलो धानमा चित्त बुझाउन बाध्य छन् । यति ज्यालाले परिवारको हातमुख जोड्नै समस्या छ । 

धनुषाको भुतहीपटेर्वाका ४० परिवार मुसहर समुदायले आफ्नो श्रम शोषण भइरहेको गुनासो भने गरेका छन् । डेढ दशक अघि उनीहरुले ज्याला बढाउनुपर्ने माग गर्दै आन्दोलन गरे पछि १० किलो धान पुर्‍याइएको हो । स्थानीय जनप्रतिनिधिले समयसापेक्ष ज्याला उपलब्ध गराउन सम्म पहल गरेका छैनन् ।

यहाँका मुसहर समुदायका व्यक्तिलाई मजदूरी गर्नुको विकल्प छैन । गौचरण ऐलानी जग्गामा वर्षौं देखि बसोबास गर्दै आएका यो समुदायका अधिकांश पुरुष परिवार पाल्नकै लागि भारतका मुम्बई, दिल्ली, पञ्जाव लगायतका शहरमा पुगेर जोखिमपूर्ण काममा संलग्न छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ को दफा १ सय ६ बमोजिम २०८० साउन १ गतेदेखि प्रतिघण्टा ८९, दैनिक ६ सय ६८ र मासिक १७ हजार ३ सय रुपैयाँ ज्याला निर्धारण गरे पनि यहाँका मजदूरले पाउन नसकेका हुन् । मधेश प्रदेशका अधिकांश ठाउँमा पुरुषले ५ सय र महिलाले ३ देखि ४ सय रुपैयाँ ज्याला पाउने गरेका छन् ।

दलित तथा पिछडिएका समुदायको उत्थान र विकासका नाममा सरकारले वाषिर्क करोडाैं रुपैयाँ खर्च गर्छ । तर, मधेशका दलित समुदायले अहिलेसम्म निःशुल्क स्वास्थ्य उपचार, शिक्षा र शौचालय समेत प्रयोग गर्न पाएका छैनन् ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।