कर्णालीकी दीपा हमालकाे संघर्षकथा : प्रावि शिक्षकदेखि उपसचिवसम्म

फाल्गुन २५, २०८० |कमल पन्त|देव राना
कर्णालीकी दीपा हमालकाे संघर्षकथा : प्रावि शिक्षकदेखि उपसचिवसम्म

कर्णाली । भौगोलिकरूपले विकट कर्णाली प्रदेशमा लैंगिक विभेदको खाडलसमेत गहिरो हुँदा छोरीहरुको शिक्षामा पहुँच अझै पनि सुलभ हुनसकेको छैन । तर छोरीलाई पढाएर के काम भन्ने जमानामा जन्मिएर पनि लेखपढ गर्ने अवसर पाएर सरकारी सेवामा प्रवेश गरी कर्णालीलाई नै कर्मथलो बनाउने महिला हुन् दीपा हमाल । हाल कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयको नेतृत्व सम्हालिरहेकी हमालले प्रावि शिक्षकदेखि उपसचिव हुँदासम्म तय गरेको यात्रा प्रेरणादायी छ ।

भनिन्छ, संघर्षबिना सफलता असम्भव हुन्छ अर्थात कर्ममा विश्वास गर्नेहरु नै सफलताको असली हकदार हुन्छ । त्यही कर्म र संघर्षको उदाहरण हुन् दीपा हमाल । कृषक ? बुबा हीरालाल र आमा कृष्णाकी पााचौं सन्तान दीपा २०२७ माघ १९ गते वीरेन्द्रनगर-५ चिसापानीमा जन्मिएकी हुन् । प्रावि शिक्षक हुँदै हाल उनी नेपाल सरकारको उपसचिव पदमा कार्यरत छन् । छोरीलाई पढ्ने अवसर दिनुपर्छ भन्ने बुबाको मान्यता र आफ्नो मिहिनेतले यहाँसम्म ल्याइपुर्‍याएको उनी बताउँछिन् ।

वीरेन्द्रनगरको जन माविबाट २०४३ सालमा एसएलसी गरेपछि उनले तत्कालीन सुर्खेत शिक्षा क्याम्पसबाट बीएड उत्तीर्ण गरिन् । ताहचाल क्याम्पसबाट शिक्षामा स्नातकोत्तर पूरा गरेकी उनी आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यताकै कारण २०४६ सालमा प्राथमिक तहको शिक्षकबाट सरकारी सेवामा प्रवेश गरिन् । प्रावि शिक्षकदेखि उपसचिव हुँदासम्म कणर्लीका विभिन्न जिल्लामा बसेर सेवा गरिन् । तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट एक मात्र महिला अधिकृत हुने रेकर्ड बनाएकी दीपा भन्छिन्, 'कर्मचारी संगठनमा समेत महिलालाई कमजोर ठान्ने प्रवृत्तिको सामना गर्नुपर्‍यो ।'

अझै पनि जातीय विभेद कायमै रहेको हाम्रो समाजमा दीपाले २०५१ सालमै अन्तरजातीय विवाह गरेकी थिइन् । श्रीमान् पूर्णमान श्रेष्ठ सरकारी सेवामै दीपाभन्दा तल्लो तहमा कार्यरत थिए । पूर्णमानलाई नै यो जातिका आधारमा पनि र पदीय आधारमा पनि असमान भएकाले विवाह गर्न सहज नहोला भन्ने लागेको थियो । तर, उनीहरुको प्रेमले जित्यो र परिवारले चाँडै नै सबैकुरा सहज बनाइदियो ।

सरकारी सेवामा ३३ वर्ष पूरा गरिसकेकी दीपाले साक्षरता अभियान, जिल्ला शिक्षा कार्यालय, शैक्षिक तालिम केन्द्रको सफल नेतृत्व गरिसकेकी छन् । प्राप्त जिम्मेवारी कुसलतापूर्वक वहन गर्न सकेकै कारण उनले नेपाल सरकारले प्रदान गर्ने प्रवल जनसेवाश्री पदक, उत्कृष्ट निजामती कर्मचारी पुरस्कार तथा शिक्षाको राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेकी छन् । सेवानिवृत्त भएपछि कणर्लीका छोरीहरुलाई सर्वसुलभ शिक्षा, आत्मनिर्भर र महिला सशक्तीकरणको अभियानमा जोड्ने सपना उनले साँचेकी छन् ।


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।

Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।