कतार विश्वकप : नेपाली खेलाडीलाई प्रत्यक्ष खेल देखाउन एन्फाको कन्जुस्याइँ

पुस ६, २०७९ |रेबन दाहाल
कतार विश्वकप : नेपाली खेलाडीलाई प्रत्यक्ष खेल देखाउन एन्फाको कन्जुस्याइँ

काठमाडौं । कतारमा सम्पन्न २२ औं संस्करणको फिफा विश्वकप सम्भवतः सबैभन्दा धेरै नेपालीले मैदानमै पुगेर प्रत्यक्ष हेरेको ठूलो प्रतियोगिता हो । विश्वकप हेर्न अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारी पनि दोहा पुगे । तर, मात्र ५ घण्टाको हवाई दुरीमा आयोजना भएको कतार विश्वकप हेर्न नेपाली खेलाडी भने पुगेनन् । खेलाडीलाई विश्वकप प्रत्यक्ष देखाउने चासो एन्फालेसमेत लिन सकेन ।

विश्व फुटबल महासंघ फिफाले कुनै पनि समर्थकलाई विश्वकप हेर्न सहज होस् भनेर सबै देशका फुटबल एसोसिएसनलाई सीमित टिकट उपलब्ध गराउँदै आएको छ । एन्फाले पनि कतार विश्वकपका लागि प्राप्त २ सय ६० टिकट बिक्री गरेको थियो । नेपालले २ सय ९० टिकट पाउनुपर्नेमा ३० सिट एएफसीले रोकेको दाबी एन्फाले गरेको छ । बाँकी टिकट एन्फाले आफू निकटलाई उपलब्ध गराउँदा खेलाडीले किन्न चासो नै देखाएनन् ।

धेरै देशले आफ्ना खेलाडीलाई प्रत्यक्ष खेल देखाउने योजना बनाउँछन् । योजनाभित्र फुटबल लेजेन्डको विश्वकप यात्रा पनि समावेश हुन्छ । मैदानमै पुगेर प्रत्यक्ष खेल हेर्नु र खेल कौशल सिक्नु खेलाडीका लागि गर्वको कुरा हो । तर नेपाली फुटबलमा मैदान बाहिरका योजनामा खेलाडी प्राथमिकतामै पर्ने गरेका छैनन् ।

एन्फाले झन्डै १ करोड ५० लाख रुपैयाँ बराबरका टिकट खरिद गरेको थियो । ती टिकटमध्ये एन्फाले ४८ जिल्ला फुटबल संघ, ए, बी र सी डिभिजनका क्लब पदाधिकारी, एन्फाका केही शीर्ष र केन्द्रीय पदाधिकारीलाई बिक्री गरेको जनाएको छ । बिक्री भएका २ सय ५९ वटा टिकटको ८० प्रतिशत रकम पनि उठाइसकेको छ । खेलाडी र पूर्वखेलाडीका लागि निशुल्क टिकट दिने र लाखौं खर्च गर्ने अवस्थामा भने एन्फा पुगेको छैन ।

सन् १९८६ देखि विश्वकप छनोटमा सहभागी हुँदै आएको नेपाल अहिलेसम्म दोस्रो चरण पार गर्न सकेको छैन । फिफाले अब विश्वकपमा ४८ देश खेलाउँदा एसियालाई ९ कोटा छुट्याएको छ । यो अर्थमा नेपाललाई पनि विश्वकप सोच्नै नसक्ने बाटो भने हैन । 


Image

रेबन दाहाल

दाहाल कान्तिपुर टीभीमा खेलकुद ब्युरोमा कार्यरत छन् ।