जीवनको पहिलो उडानका लागि तयार हुँदै सारसका बचेरा

पुस ८, २०८० |मनोज पौडेल
जीवनको पहिलो उडानका लागि तयार हुँदै सारसका बचेरा

कपिलवस्तु । रुपन्देहीको सियारी, हर्नैया, छपिया र लुम्बिनी आसपासका रमवापुर, महिलवार, पर्सा बजार, भियतनाम बिहारमा सारसका बचेरा हुर्किएका छन् । कपिलवस्तुको तिलौराकोट, तुल्सीडिहवा, निग्रोधाराम र बर्दहवालगायतका ठाउँमा पनि बचेरा उड्ने हुनै लागेका छन् । 

माउले बचेरालाई वातावरणसँग घुलमिल हुन, आहार खोज्न र सिकार गर्न सिकाइरहेका छन् । आफै आहार खोज्न सक्ने भइसकेका केही बचेरा उड्ने अभ्यास गरिरहेका छन् । यी बचेराहरू साढे दुई महिनादेखि तीन महिनासम्मका भइसकेका छन् । सारसले चारैतिर पानी जमेको सुरक्षित ठाउँ खोजेर झारपात जम्मा गरेर गुँड बनाउँछ । भाले-पोथी पालैपालो ओथारो बस्छन् ।

चराविद् डा. हेमसागर बराल लुम्बिनी आसपासको क्षेत्र सारस चराको लागि महत्त्वपूर्ण भएको बताउँछन् । ‘ लुम्बिनी र यस आसपासको क्षेत्र चाहिँ सारस चराका लागि बहुत महत्त्वपूर्ण मानिन्छ,’ उनले भने, ‘नेपालमा भएका लगभग ८० देखि ९० प्रतिशत सारसहरू यहाँ देख्‍न पाइन्छ ।’

सुरक्षा र आहार विहार राम्रो हुँदा यस वर्ष रुपन्देही र कपिलवस्तुमा सारसका १६ जोडीले ३२ वटा बचेरा हुर्काएका छन् । १० किलोसम्म तौल हुने यो चरा साढे ५ फिट अग्लो हुन्छ । ४०/५० फिट उँचाइमा उड्ने सारसले बालीनालीलाई नोक्सानी पुर्‍याउने किराफटयांग्रालाई आहार बनाउने हुँदा उब्जनी बढाउन सहयोग गर्छ । नेपालमा ६ सयजति सारस रहेकोमा रुपन्देही र कपिलवस्तुमा मात्रै तीन सय बढी छन् ।

अग्लो र चित्ताकर्षक यो चराको बचेरासँगको चलहपहल हेर्न आउनेहरूका कारण लुम्बिनी क्षेत्र उत्कृष्ट सारस अवलोकन गन्तव्य बनेको छ । ‘सारसलाई हेर्ने, बुझ्ने र पढ्ने गर्नलाई कपिलवस्तु सम्भाव्य छ,’ डिभिजन वन कार्यालय कपिलवस्तुका डिएफओ विजयराज सुवेदी भन्छन्, ‘यसबाट हामीले पर्यटकलाई आकर्षण गर्ने र पर्यटनलाई प्रवर्द्धन गर्न सकिने सम्भावना रहेको छ ।’

सारसको महत्वकै कारण लुम्बिनी सांस्कृतिक नगरपालिकाले नगर पन्छी र भारतको उत्तर प्रदेशको राज्य पन्छी बनाएको छ । बौद्ध धर्मावलम्बीहरू यो पन्छीलाई आस्थाका रूपमा हेर्छन् । यो चरा ओथारो बसेको र बच्चा हुर्काएको हेर्न पाउँदा गज्जबको आनन्द अनुभूति हुने प्रकृतिप्रेमीहरु बताउँछन् ।

यो दुर्लभ पन्छीको संरक्षणसँगै गतिविधि अवलोकन गराएर चरा पर्यटनबाट राम्रो आयआर्जन गर्न सकिने सम्भावनासमेत छ ।

हेर्नुहोस् सारसका मनमोहक तस्बिरहरू :-


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।