काठमाडौं । अमेरिकाको लस एन्जलस काउन्टीको जंगलमा नयाँ डढेलो लागेको र यो डढेलो द्रुत गतिमा फैलिरहेको बीबीसीले जनाएको छ ।
डढेलो लागेपछि हजारौं मानिस त्यस वरिपरिको क्षेत्र छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् । दुई साताअघि लागेको अहिलेसम्मकै विनाशकारी आगो र यसले पुर्याएको क्षतिको सन्त्रासबाट लस एन्जलसवासी मुक्त हुन नपाउँदै अर्को डढेलो सल्किएको हो ।
लस एन्जलस शहरबाट करिब ४५ माइल उत्तरपश्चिममा पर्ने जंगलमा स्थानीय समयअनुसार हिजो दिउँसो नयाँ आगो लागेको हो । थुप्रै आवासीय क्षेत्र र विद्यालयको नजिकै पर्ने ह्युज क्षेत्रमा लागेको सो डढेलो ९ हजार ४ सय एकडभन्दा बढी क्षेत्रमा फैलिसकेको जनाइएको छ । सुक्खा झाडी र तीव्र वेगको हावाका कारण आगो तीव्र रुपमा फैलिरहेको छ ।
आगोका कारण कुनै घर वा व्यवसायमा क्षति नपुगे पनि करीब ३१ हजार वासिन्दाले आफ्नो घर छाडेको बीबीसीले जनाएको छ । लस एन्जलसको जंगलमा दुई हप्ताअघि लागेको आगोमध्ये प्यालिसेड्स र इटन क्षेत्रको आगो अझै पनि बलिरहेको र यो नयाँ आगो त्यसको उत्तरपटि्टको क्षेत्रमा लागेको बताइएको छ । यसका अतिरिक्त सेन डियागो र ओसियन साइड तिर थप दुई सानो आगो शुरु भएको जनाइएको छ ।
लस एन्जलसको जंगलमा यही जनवरी सातदेखि श्रृंखलाबद्ध रुपमा लागेको ३१ वटा विनाशकारी डढेलोले लस एन्जलस महानगर र यसको वरिपरिका क्षेत्रलाई नराम्ररी प्रभावित गरेको छ । सो आगोबाट अहिलेसम्म कम्तिमा २७ जनाले ज्यान गुमाएका छन् भने १२ हजारभन्दा बढी आवास तथा भौतिक संरचना ध्वस्त भएका छन् । यस्तै २ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । प्यालिसेड्स र इटन फायरले सबैभन्दा बढी क्षति पुर्याएकोछ ।