काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार बनाउनमा कुनै रुची नभएको दाबी गर्दै आफू जनतामा केन्द्रित रहेको बताउनुभएको छ ।
प्रेस सेन्टर सुर्खेतले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले आफूले चितवनमा यो सरकार धेरै दिन जाँदैन भनिराख्दा सँगै रहेका कांग्रेस नेता शशांक कोइरालले राजनीतिमा जे पनि हुनसक्छ भनी गरेको टिप्पणीका कारण आफू सरकारमा जानलागेको हल्ला चले पनि सत्य नभएको दाबी गर्नुभयो ।
गठबन्धन दलका नेताहरूले नै सरकारको विरोध गरिरहेको र प्रधानमन्त्रीको दलभित्र झनै उकुसमुकस भएकाले यो सरकार धेरै जाँदै भन्ने अभिव्यक्ति आफूले दिएको पनि दाहालले प्रष्ट पार्नुभयो ।
उहाँले अप्राकृतिक गठबन्धन सरकारका कारण देश गलतबाटोबाट अघि बढेको आरोपसमेत लगाउनुभएको छ । अध्यक्ष दाहालले ओली सरकारले देशलाई अध्यादेशबाट चलाउन खोजिरहेको आरोप पनि लगाउनुभएको छ ।