काठमाडौं । काठमाडौंमा पाइलैपिच्छे भेटिन्छन्- मठ, मन्दिर, चैत्य, गुम्बा र बिहार । यहाँका पुराना सम्पदाहरुको संरक्षण त जरुरी छ नै, सम्पदाको महत्त्व बुझ्नु उत्तिकै आवश्यक छ । यही तथ्य बुझ्न र बुझाउन आज काठमाडौंका ५ वटा वडाका ११ वटा ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सम्पदा स्थलको अवलोकनका निम्ति हेरिटेज वाकको आयोजना गरियो । र, सम्पदा यात्राको यो अवसर जुराइदिएको थियो, रोटरी क्लब अफ ठमेलले ।
काठमाडौंको ठमेलस्थित भगवान बाहालमा बिहान ७ बजेदेखि नै हेरिटेज वाकका लागि भेला हुँदै थिए । करिब १५ सय वर्षअघि यही स्थानका सिंहसार्थ बाबु नाम गरेका आजु चीनको ल्हास्सा गएर सिद्धि प्राप्त गरी फर्केपछि यहाँ विहार बनाएको विश्वास छ । जुन अहिले भगवान् बाहालको नामले प्रचलित छ । भगवान बाहालमा सम्पदा यात्रीहरु जम्मा भएपछि नेवारी मौलिक बाजाको टोलीलाई अगाडि लगाएर सम्पदा यात्रा सुरु भयो ।
बाहालबाट ठमेलका सानो बाटो हुँदै सम्पदा यात्रीहरु ठमेलकै ज्याठास्थित छुस्या बाहालतर्फ लागे । १७औं शताब्दीमा बनेको छुस्या बाहालको काष्ठकला र घर शैलीमा बनेको बिहार अवलोकन गरेर सम्पदा यात्रीहरु अर्को बौद्ध बाहालको अवलोकनका लागि सानो गल्ली हुँदै अगाडि बढे । झ्वा बाहालका लागि अगाडि बढ्दै गर्दा सम्पदायात्रीलाई नेवार समुदायका मौलिक घरहरु पनि अवलोकन गर्ने मौका मिलिरहेको थियो । रत्न बज्र बज्राचार्यले करिब पाँच सय वर्ष अगाडि तान्त्रिक तवरले रत्न वृष्टि गराई निर्माण गरेको विश्वास गरिएको रत्न बिहार हेरेर सम्पदा यात्री श्रृगल चैत्यतर्फ लागे ।
बांगेमुढा, भेडासिंह हुँदै सम्पदा मार्गमा देखिने भेटिने अन्य सम्पदा अवलोकन गर्दै सम्पदा यात्री सेतो मच्छिन्द्रनाथको मन्दिर रहेको मछिन्द्र बाहाल पुगे । मछिन्द्र बाहालबाट निस्किएर जवनबाहाल हुँदै इन्द्रचोक पुगेका यात्रीलाई इन्द्रजात्राका आकाश भैरवको मूर्तिलाई मन्दिर बाहिरै अवलोकन गर्ने अवसर जुर्यो । इन्द्रचोकको दक्षिण हुँदै मखन महादेवबाट हनुमानढोका अवलोकन गरेपछि वसन्तपुरको कुमारी घर ,काष्ठमण्डप र त्यहाँ इन्द्रजात्राका लागि गरिएको तयारी हेर्दै उनीहरुको यात्रा यट्खा बाहालतर्फ मोडियो ।
अन्तिम गन्तव्य थियो-इटुम बाहाल । जुन काठमाडौंको सबैभन्दा अग्रज बाहाल मानिने रहेछ । यसरी गरिने सम्पदा यात्राले पर्यटन प्रवर्द्धननमा छुट्टै आयाम दिने विश्व सम्पदा यात्री शंकर पाण्डे र मणिरत्न शाक्यको बुझाइ छ ।
आफ्नै समुदायमा भएका बिहार, चैत्य तथा मठमन्दिरका विषयमा कति अनविज्ञ छन् । झन् पर्यटकलाई सीमित मुख्य सम्पदास्थल अवलोकन गराउँदा भित्री सहरमा रहेका यी सम्पदाहरु ओझेलमा पर्ने गरेका छन् ।