काठमाडौं । विगतका वर्षमा जस्तै यसपालि पनि नेपालमा विश्व पर्यटन दिवस मनाइएको छ । तर, पर्यटक आकर्षित गर्ने योजना न मन्त्रालयसँग छ, न प्रचारको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डसँग । पर्यटन दिवस मनाउने सरकारको कार्यक्रम औपचारिकमै सीमित भएको छ ।
विश्वभर जलवायु परिवर्तनको जोखिम बढिरहेको समयमा पर्यटन र हरित लगानी भन्ने मुल नाराका साथ यो वर्षको विश्व पर्यटन दिवस मनाइएको छ । तर, नेपालमा पर्यटक आकर्षित गर्न न सरकारले विशेष कार्यक्रमको घोषणा गर्यो, न पर्यटनसँग सम्बन्धित निकायले नै कुनै योजना सार्वजनिक गरे । विदेशी पर्यटकलाई स्वागत गर्न बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका पर्यटनमन्त्री सुदन किरातीले नेपालका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रको प्रचार गर्न नसकेको भनेर नेपाल पर्यटन बोर्डप्रति औंला ठड्याए ।
नेपालमा विश्व पर्यटन दिवस मनाइएको यो पहिलोपटक होइन । सन् १९८० देखि हरेक वर्ष नेपालले विश्व पर्यटन दिवस मनाइँदै आएको छ । तर ती सबै कार्यक्रम कर्मकाण्डीमै सीमित रहेको टानका अध्यक्ष नीलहरी बास्तोलाको भनाइ छ ।
पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्ने सरकारको योजना छ । छिमेकी देश भारत र चीनबाट वार्षिक २५ करोड मानिस विदेश भ्रमणमा निस्किन्छन् । नेपालमा पर्यटक आकर्षित गर्ने योजना प्रभावकारी नहुँदा छिमेकी देशकै पर्यटकका लागि पनि नेपाल आकर्षक गन्तव्य बन्न सकेको छैन । निजी क्षेत्रको प्रयासमा अहिले नै वार्षिक ५० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता छ । सरकार भने अझै १० लाखकै लक्ष्यमा अल्झिएको छ । पर्यटन र हरित लगानी भन्ने नारासहित दिवस मनाएको सरकारले पर्यटकीय होटलमा विद्युतीय चुलोको प्रयोगमा सहजीकरण गर्नसमेत सकेको छैन ।
सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने र कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याउने योजना थियो । कोभिडका कारण उक्त कार्यक्रम स्थगन भयो । लगत्तै नेपाल भ्रमण दशक घोषणा गरियो । अहिलेको सरकारले भ्रमण दशक कार्यक्रमलाई पनि निरन्तरता दिएको छैन । चर्चामा आउन एकपछि अर्को कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले पर्यटन क्षेत्रले अपेक्षित प्रगति हासिल गर्न नसक्ने देखिएको छ ।