पर्यटन बोर्डभित्रका खुम्लेकिराले पर्यटन क्षेत्र चलायमान हुन सकेन : मन्त्री किराती

आश्विन १०, २०८० |कान्तिपुर टीभी संवाददाता
पर्यटन बोर्डभित्रका खुम्लेकिराले पर्यटन क्षेत्र चलायमान हुन सकेन : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन बोर्डभित्र ‘खुम्लेकिरा’ रहेको टिप्पणी गरेका छन् । 

बुधबार पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटन बोर्डभित्र खुम्लेकिरा भएका कारण पर्यटन क्षेत्र चलायमान बन्न नसकेको टिप्पणी गरेका हुन् । 

उनले पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवर्द्धनका निम्तिअघि बढ्ने प्रतिबद्धता जनाए । पर्यटन ऐन नहुँदा पर्यटन क्षेत्रमा समस्या थपिएको उनको भनाइ थियो । ‘हामीले अहिलेसम्म हाम्रो देशमा संस्कृति ऐन बनाउन सकेका छैनौँ । हामीले ३५ सालको पर्यटन ऐन बोकेर बसेका छौँ,’ उनले भने, ‘पर्यटन बोर्डलाई अब सक्रिय बनाएर लैजानु छ । हुन त त्यहाँभित्र खुम्लेकिराहरु छन् । हामी पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवर्द्धनको निम्तिअघि बढ्नेछौँ ।’

उनले नेपाली वायु सेवा कम्पनीलाई युरोपियन युनियनको कालोसूचीबाट हटाएर पर्यटकलाई विश्वसनीयता बनाउनको निम्ति काम गर्नुपर्ने आवश्यकता रहेको जनाए । उनले हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोसिस भइरहेको जनाउँदै जहाज खरिद प्रक्रिया अन्तिम चरणतिर रहेको जानकारी दिए । 

उनले धेरैभन्दा धेरै पर्यटक ल्याउने उद्देश्यले जहाज खरिदको प्रक्रिया अघि बढाएको जनाउँदै जहाज खरिदको विषयमा नकारात्मक ढंगले टिप्पणी गर्नेहरु देशभक्त हुन नसक्ने जिकिर गरे । ‘हाम्रो देशको आकाशको कालोसूचीलाई हटाएर पर्यटकलाई विश्वसनीयता बनाउनको निम्ति केही कदमहरु हामीले उठाइसकेका छौँ । हामी छिटै परिणाममा पुग्नेछौँ,’ उनले भने, ‘हामीले हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोसिस गरिरहेका छौँ । निगमद्वारा हामी जहाज खरिद गर्ने अन्तिम चरणतिर छौँ । पर्यटनको निम्ति जहाज हो, जुन देश समुद्रसँग जोडिएको छैन, त्यो देशको जहाज मेरुदण्ड हो ।’ 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.