भोजपुर । भोजपुर र खोटाङको सीमानामा रहेको टेम्केडाँडा पूर्वको प्रख्यात घुम्नलायक गन्तव्य हो । समुद्री सतहदेखि तीन हजार एक सय मिटर उचाईमा रहेको यो डाँडाबाट करिब आधा दर्जन हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । गर्मी मौसम सुरु हुँदै गर्दा यहाँ आन्तरिक तथा बाहृय पर्यटकको घुइँचो लागेको छ ।
गर्मी मौसम सुरु भएसँगै भोजपुरको पर्यटकीयस्थल टेम्केडाँडामा पर्यटकको चहलपहल बढ्न थालेको छ । टेम्केडाँडाको चुचुरोमा टेम्केसिद्ध मन्दिर रहेकाले यसको धार्मिक महत्वसमेत छ । मन्दिरमा पूजाआजासँगै चउर डाँडा र हिमश्रृंखलाको आकर्षक अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्दछन् ।
टेम्केसँगै पर्यटकको रोजाइमा चखेवा पनि पर्ने गर्छ । भोजपुर र खोटाङको सीमानामा पर्ने चखेवामा चल्ने चिसो हावा, प्राकृतिक सौन्दर्य र मिठो अतिथि सत्कारमा यहाँ पुग्ने सबै लोभिन्छन् । सदरमुकामबाट नजिक, यातायातको सहज पहुँच र होमस्टेकोसमेत व्यवस्था भएका कारण चखेवा पर्यटकहरुले आनन्द लिने गरेका छन् ।
पर्यटक भित्र्याउन चखेवा हुँदै टेम्केबाट मुन्दुम पदमार्गसमेत निमार्ण गरिएको हुनाले पर्यटकलाई झन् सहज भएको छ । पर्यटकलाई भोजपुरको पर्यटकीय क्षेत्रहरूको सूचना दिने उद्देश्यले चखेवामा पर्यटन सूचना केन्द्रसमेत बनिरहेको छ ।
टेम्के र चखेवामा चैत-बैशाखको वसन्त मदकता, साउन-भदौको हरियाली वनजंगल, कात्तिक-मंसिरको पारिलो याम र पुस-माघको हिमपातले बाह्रैमास रमाउन सकिन्छ । त्यसैले यहाँ आन्तरिक पर्यटकको चहलपहल भइरहन्छ ।