टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही गरिँदै

मंसिर १५, २०८० |कान्तिपुर टीभी संवाददाता
टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही गरिँदै

काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द गर्न सरकारले दिएको निर्णय कार्यान्वयन नगर्ने झन्डै एक दर्जन इन्टरनेट सेवा प्रदायक कम्पनी कारबाहीमा पर्ने भएका छन् । दूरसञ्चार सेवाको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्टीकरण नदिएका, निर्णय कार्यान्वयन नगरेका र सम्पर्कमा समेत नआएका कम्पनीलाई कारबाही हुने जनाएको छ ।

टिकटक बन्द गर्ने निर्णयको अनुगमन गर्न प्राधिकरणले बनाएको समितिले ५५ वटा कम्पनीलाई कारबाहीको सिफारिस गरेको थियो । प्राधिकरणले ती सबै कम्पनीसँग स्पष्टीकरण लिएको थियो । स्पष्टीकरण नदिएका र सम्पर्कमा नआएका कम्पनीलाई कारबाही गरिने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । निर्देशन नमान्ने आईएसपीलाई कस्तो कारबाही गर्ने भन्नेबारे प्राधिकरणले कुनै निर्णय गरिसकेको छैन ।

दूरसञ्चार ऐनअनुसार प्राधिकरणले ती कम्पनीलाई पाँच लाख रुपैयाँसम्म जरिवाना र लाइसेन्ससमेत रद्द गर्न सक्छ । प्राधिकरणका अनुसार हाल १३० वटा कम्पनीले इन्टरनेट सेवाका लागि इजाजत लिएका छन् ।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीले तीमध्ये कति कतिपय कम्पनी काम गर्ने अवस्थामै नभएको र कतिपय बन्द भइसकेको जनाए । सञ्चालनमा भएका तर सम्पर्क नम्बरहरु अद्यावधिक नभएकाले पनि समस्या भएको हुनसक्ने उनको भनाइ छ ।

प्राधिकरणले मंसिर १२ गते निर्णय नमानेका इन्टरनेट सेवा दिने कम्पनीले चौबीस घण्टाभित्र कुनै पनि जवाफ प्राप्त नदिए लाइसेन्स खारेज गर्ने चेतावनी दिएको थियो ।

पूर्ण रुपमा टिकटक बन्द नभएपछि अनुगमन गर्न प्राधिकरणले निर्देशक विजयकुमार रायको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो । टिकटकले सामाजिक सद्भावमा नकारात्मक असर परेको भन्दै सरकारले गत कात्तिक २७ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.