
काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गर्ने चेतावनी दिएको छ ।
प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो ।
प्राधिकरणको निर्देशन/आदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भन्दै उसले निर्देशन पालना नगरे दूरसंचार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुने पनि जनाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
प्राधिकरणले दूरसंचार ऐन, २०५३ अनुसार सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई निर्देशन दिइसके पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा अझै चलिरहेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएको हो ।
प्रधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘निर्णय भएको चौबीस घण्टापछि पनि टिकटक सञ्चालनमा आइरहेको देखिएकाले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई पुन: ताकेता गरिएको छ । निर्देशन नमान्नेलाई हामी कारबाही गर्छौं ।’
थप...
कुन-कुन देशमा प्रतिबन्धित छ टिकटक ?
टिकटक बन्द गरिएकोमा सत्तारुढ दलभित्रै असन्तुष्टि
