
काठमाडौं । नेपाल 'ए' टिमले ओमानसँगको सिरिजको पहिलो खेलमा ७० रनको हार ब्यहोरेको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा २ सय ८१ रनको लक्ष्य पछ्याएको नेपाल २ सय १० रनमा अलआउट भएपछि फराकिलो अन्तरले पराजित भएको हो। अनिल कुमाश शाह र इशान पाण्डेले अर्धशतकका बाबजुद नेपाल पराजित भएको हो।
टस जितेर पहिले ब्याटिङ रोजको ओमानले निर्धारित ५० ओभमा नौ विकेट गुमाएर २ सय ८० रन बनाएको थियो। ओपनर जतिन्दर सिंहले आशिष ओडेरासँग मिलेर ७९ रनको साझेदारी गर्दै खेलमा राम्रो सुरुआत दिलाएका थिए। सन्तोष यादवले ५८ रन बनाएको अवस्थामा जतिन्दरलाई आउट गराएर ओपनिङ साझेदारी तोडेका हुन्।
जतिन्दरले ४८ बलमा १० बाउन्ड्रीसहित ५८ रन बनाए । सन्तोषले नै २७ रन बनाएको अवस्थामा आशिषलाई पनि क्याचआउट गराएका थिए। चौथो नम्बरका मुजिबुर अलीले ७२ रन को उत्कृष्ट इनिङ्स खेले। उनले ८५ बलमा सात बाउन्ड्री लगाएका हुन्।
यस्तै, हसिर डफेडरले ४१ बलमा ४६ रनको महत्वपूर्ण इनिङ्स खेलेका थिए। उनले मुजिबुरसाग ९१ रनको ठूलो साझेदारी गरेर ओमानलाई चार विकेट एक सय ८५ रनको सहज अवस्थामा पुर्याएका थिए। पछिल्लो क्रमले खास प्रदर्शन गर्न नसकेको भए पनि विनायक शुक्लाले २५ रनको भने योगदान गर्न सके।
नेपालका लागि आकाश चन्दले नौ ओभर बलिङ गरेर तीन दशमलव चारको इकोनोमीमा चार विकेट हात पारेका थिए। सन्तोषले दुई विकेट लिए। जवाफमा नेपाल ४४ ओभर चार बलमा सम्पूर्ण विकेट गुमाएर २ सय १० रनमा समेटिएको हो।
सुरुआत भने नेपालले निकै राम्रो गरेको थियो। तृत राज दाश र अनिल कुमाश साहले ओपनिङ गर्ने क्रममा ८४ रनको साझेदारी गरेका थिए। अनिलले ६४ बलमा ६ चौकासँगै ५० रन बनाएका थिए। तृत राज जाशले ४८ बलमा ३१ रन जोड्न सके। यी दुवै खेलाडीलाई मुजिबुर अलीले आउट गराएका थिए।
तेस्रो नम्बरका देव खनालले एक सयको स्ट्राइक रेटमा ४३ रन जोड। क्याचआउट हुनुअघि उनले चार बाउन्ड्री प्रहार गरे। इशान पाण्डेले पनि ५२ रनको अर्धशतकीय पारी खेले। तेस्रो विकेटका लागि देव र इशानले ८६ रनको पार्टनरसिप गरेका थिए।
त्यसपछि भने नेपालीटिम सम्हालिन सकेन्। कुशल मल्ल, सन्तोष यादव, राशिद खान मैदानमा टिक्न नसक्दा नेपाल लक्ष्यसम्म पुग्न सकेन्। दुई खेलको सिरिजमा ओमानले एक शून्यको अग्रता बनाएको छ।