
धनुषा । मधेश प्रदेशको राजधानी जनकपुरधामलाई स्वच्छ, सुन्दर र व्यवस्थित सहर बनाउन सरोकारवालाहरू यतिबेला जोडतोडका साथ लागेका छन् ।
जनकपुरधामको मुटु मानिने जानकी मन्दिर, राम मन्दिर, गंगा सागर, रामानन्द चोकलगायतका क्षेत्रको फुटपाथ अतिक्रमणमुक्त गराइएको छ । ट्राफिक व्यवस्थापन र फुटपाथ खाली गराइएपछि प्रदेश र स्थानीय सरकार मिलेर गरेको संयुक्त अभियानले नागरिकस्तरबाट समेत साथ पाएको छ ।
१५ दिन अघि अस्थायी टहरा, ठेला र अव्यवस्थित पसलहरू हटाएपछि जनकपुरधामको ऐतिहासिक गंगासागरकाे मुहारनै फेरिएकाे छ । धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण तथा सहरी व्यवस्थापनलाई प्राथमिकता दिँदै गंगासागरको यो मुहारलाई हरियाली प्रवर्द्धन, पदमार्ग निर्माण र धार्मिक पर्यटनको विकासमा जोड दिएको छ ।
अहिले यहाँ लाइटिङ्ग, टाइल्स, घेराबेरा र बोटबिरूवा लगाउने काम भएको छ । व्यवस्थित सहरी जीवनको लागि सार्वजनिक स्थलको संरक्षण अपरिहार्य रहेको स्थानीयले समेत बुझ्न थालेका छन् । मधेश प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाको सक्रियतामा रामानन्द चोक, अस्पताल रोड, जानकी मन्दिर, राम मन्दिर, पेठिया बजार, भानु चोक, विद्यापति चोक, कदम चोक, गंगासागरलगायतका क्षेत्रको अतिक्रमित फुटपाथ खाली गराइएको छ ।
धार्मिक-सांस्कृतिक नगरी जनकपुरधाममा अव्यवस्थित व्यापार सञ्चालन गर्दा नगरमात्रै कुरूप देखिएको थिएन आमनागरिकको दैनिक जीवनमा समेत प्रभाव पारेकोे थियो । व्यवस्थित, स्वच्छ र सुरक्षित सहर बनाउन अभियान सञ्चालन गरिएको हो ।
जनकपुरधाममा फुटपाथ खाली गराइनुको साथै बढी भिडभाड हुने क्षेत्रमा ट्राफिक व्यवस्थापन पनि भएको छ । जानकी मन्दिरदेखि रामानन्द चोकसम्म बाटो एकतर्फी बनाइएको छ भने बढी दुर्घटना हुने तथा जथाभावी आउजाउ भइरहेको रामानन्द चोकमा नयाा डीट्भाठइडर लगाएर सडक व्यवस्थित गर्ने कामसमेत भएको छ ।
यसलाई व्यवसायीहरूले सकारात्मक लिँदै वैकल्पिक व्यवस्थाको माग गरेका छन् । पछिल्लो समय तीव्र सहरीकरणसँगै बढ्दै गएको अतिक्रमण समस्या समाधानका लागि सुरु गरिएको अभियानअन्तर्गत फुटपाथ र ट्राफिक व्यवस्थापन भएपछि जनकपुरधामको सौन्दर्य बढेको छ ।