यस वर्षकाे इटहरी गोल्डकप राति खेलाइने

चैत्र २५, २०८२ |खेल ब्युरो
यस वर्षकाे इटहरी गोल्डकप राति खेलाइने

इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १६औं संस्करण यस वर्ष राति खेलाइने भएको छ। 

आयोजक राष्ट्रिय जागृति क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी चैत ३० देखि वैशाख ७ गतेसम्म चल्ने प्रतियोगिता राति खेलाइने जानकारी दिएको हो । प्रतियोगितामा दुई विदेशीसहित ८ टोलीको सहभागिता रहनेछ। 

यसअघि १४औं संस्करणका खेल राति खेलाइएको थियो भने १५औं संस्करण दिवाकालीन गरिएको थियो। रात्रिकालीन खेल सञ्चालनका लागि तीन वर्षअघि इटहरी रंगशालाको पूर्व र पश्चिमतर्फ फ्लडलाइट जडान गरिएको भए पनि अन्य भागमा पर्याप्त प्रकाश नभएकाले अस्थायी बत्ती जडान गरिने आयोजकले जनाएको छ। 

फ्लडलाइट जडानका लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले ८० लाख रूपैयाँ सहयोग गरेको थियो। एक सातासम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रूपैयाँ पाउनेछ। 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रूपैयाँ र सर्वाधिक गोलकर्तालाई २५ हजार रूपैयाँ प्रदान गरिनेछ। त्यसैगरी विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई २० हजार रूपैयाँ र 'म्यान अफ द म्याच'लाई १० हजार रूपैयाँ पुरस्कार दिइने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए।