आईपीएलमा आज दिल्ली र गुजरात भिड्दै

चैत्र २५, २०८२ |खेल ब्युरो
आईपीएलमा आज दिल्ली र गुजरात भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल २०२६ को १४औं खेलमा बुधबार दिल्ली क्यापिटल्सले घरेलु मैदानमा गुजरात टाइटन्सको सामना गर्दैछ । 

दिल्लीस्थित अरूण जेटली स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने आठ बजे सुरू हुनेछ । अक्षर पटेलको कप्तानीमा रहेको दिल्ली क्यापिटल्स अहिलेसम्म अपराजित छ । सुरूवाती दुवै खेलमा लखनऊ सुपर जायन्ट्स र मुम्बई इन्डियन्सलाई हराएको दिल्ली ४ अंकका साथ अंक तालिकाको चौथो स्थानमा छ । 

अर्कोतर्फ, शुभ्मन गिलको नेतृत्वमा रहेको गुजरात टाइटन्सले जितको खाता खोल्न सकेको छैन । गुजरात आफ्ना सुरूवाती दुवै खेलमा पञ्जाब किंग्स र राजस्थान रोयल्ससँग हार व्यहोर्दै अंक तालिकाको नवौं स्थानमा छ । २२ वर्षीय समीर रिज्वी दिल्लीका लागि एक्स फ्याक्टर सावित भएका छन् । 

उनले २ खेलमा एक सय ६० रन बनाउँदै ओरेन्ज क्यापको दौडमा अग्रता बनाएका छन् । उनलाई टी-२० क्रिकेटमा एक हजार रन पूरा गर्न मात्र ४८ रन आवश्यक छ । यद्यपि, दिल्लीका लागि शीर्ष क्रमका ब्याटरको फर्म चिन्ताको विषय छ । कप्तान केएल राहुल लगातार दुई खेलमा शून्य रनमा आउट भएका छन् र उनले आज लय समात्ने प्रयास गर्नेछन् । 

राहुललाई सात सय टी-२० चौका पूरा गर्न मात्र ५ चौका आवश्यक छ । बलिङतर्फ दिल्लीका मिचेल स्टार्क चोटका कारण बुधबार पनि टोलीमा छैनन् । तर, मुकेश कुमार, कुलदीप यादव र लुङ्गी एनगिडीले टोलीको बलिङ सम्हालिरहेका छन् । अर्कोतर्फ, शुभमन गिलको नेतृत्वमा रहेको गुजरात टाइटन्स यस सिजन आफ्नो पहिलो जितको खोजीमा छ । 

सुरूवाती दुवै खेल गुमाएको गुजरात तालिकाको नवौं स्थानमा छ । चोटका कारण अघिल्लो खेल गुमाएका कप्तान गिल बुधबारको खेलमा पुनरागमन गर्दैछन् । उनलाई आईपीएलमा चार हजार रन पूरा गर्न ९५ रन आवश्यक छ । बलिङमा गुजरातका युवा बलर अशोक शर्माले सिजनकै सबैभन्दा छिटो डेलिभरीको रेकर्ड राखेका छन् । 

उनले १ सय ५४ दशमलव २ किमि प्रति घन्टाको गतिमा बल फालेको रेकर्ड छ। गुजरातको बलिङ आक्रमण बलियो देखिए पनि हालसम्मको प्रदर्शनमा केही उतारचढाव देखीएको छ । हेड-टू-हेड रेकर्डमा गुजरातले ४ र दिल्लीले ३ खेल जितेका छन् । अरुण जेटली स्टेडियमको छोटो बाउन्ड्रीका कारण यहाँ उच्च स्कोर बन्ने सम्भावना छ ।