
काठमाडौं । भारतको प्रथम श्रेणी क्रिकेट प्रतियोगिता रणजी ट्रफीका पूर्वखेलाडी, क्रिकेटर नरेन्द्र कुमार नेपाली क्रिकेटरलाई प्रशिक्षण दिन नेपाल आउने भएका छन्।
आईसीसीको लेभल वानका प्रशिक्षक नरेन्द्र नेपालका क्रिकेटरलाई प्रशिक्षण दिन नेपाल आउन लागेका हुन्। उनी अहिले दिल्लीको द्रोणाचार्य क्रिकेट एकेडेमीका हेडकोच छन्। उनलाई नेपालको काठमाडौं क्रिकेट एकेडेमीले नेपाली क्रिकेटरलाई प्रशिक्षण दिन नेपाल ल्याउन लागेको जानकारी दिएको हो।
उनले १५ दिन नेपाल बसेर इच्छुक नेपाली क्रिकेटरहरुलाई प्रशिक्षण दिने केसिएका प्रमुख मदन कार्कीले जानकारी दिए। “विद्यालयको अन्तिम परिक्षा पनि सकिँदै छ। यो बेलामा प्रशिक्षणमा रहेका क्रिकेटरहरुलाई विश्वस्तरीय प्रशिक्षण दिन हामीले नरेन्द्र कुमारलाई नेपाल ल्याउन लागेका हौँ’ उनले भने।
प्रशिक्षणका लागि उनी यसअघि पनि नेपाल आएका थिए। एकेडेमीका खेलाडीसँगै इच्छुक अन्य क्रिकेटरलाई प्रशिक्षण दिएको र नेपाली खेलाडीहरुको स्तर बढाउन १५ दिनका लागि उनलाई पुन: बोलाइएको हो। १५ दिनको नेपाल बसाइमा उनले बलिङ, ब्याटिङलगायका क्षेत्रमा विशेष प्रशिक्षण दिने कार्कीले जानकारी दिए।