कर्णाली प्रदेश खेलकुद विकास परिषद्‌का नवनियुक्त पदाधिकारीद्वारा सपथ ग्रहण

चैत्र १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
कर्णाली प्रदेश खेलकुद विकास परिषद्‌का नवनियुक्त पदाधिकारीद्वारा सपथ ग्रहण

काठमाडौं । कर्णाली प्रदेश खेलकुद विकास परिषद्‌मा एक वर्षभन्दा लामो समयदेखि रिक्त रहेको सदस्य सचिव र उपाध्यक्ष पदका नवनियुक्त पदाधिकारीले सपथ ग्रहण गरेका छन्। 

प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले परिषद्‌मा सात जना पदाधिकारी नियुक्त गरेर साेमबार सपथ ग्रहण सम्पन्न गरेको हो। सोमबार सार्वजनिक विवरणअनुसार उपाध्यक्ष प्रमोद हमाल तथा सदस्य-सचिव रविन्द्र चन्दले पद तथा गोपनीयताको सपथ लिए। 

सोही अवसरमा परिषद्का सदस्यहरू पवनकुमार थापा, पंखबहादुर मल्ल, भीमाकुमारी भुसाल, गोर्खबहादुर शाही र किरण किशोर सापकोटाले पनि सपथ लिएका छन्। गत चैत १२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यी पदाधिकारीलाई परिषद्‌मा नियुक्त गरेको थियो। 

परिषद्‌मा गत २०८१ पुस ४ गतेदेखि रिक्त रहेको सदस्य-सचिव पदमा चन्द नियुक्त भएका हुन्। नवनियुक्त पदाधिकारीहरू कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका छन्। सदस्य–सचिव छनोटका लागि गठित समितिले गत माघ ३ गते अन्तरवार्ता लिएर तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरेको थियो। 

सिफारिसमा परेका रविन्द्र चन्द, दीपक हमाल र प्रमोद हमालमध्ये मूल्यांकनमा चन्दले सर्वाधिक ६७.१७ अंक प्राप्त गरेका थिए। दीपक हमालले ६०.६३ र प्रमोद हमालले ५२.३७ अंक पाएका थिए। सदस्य–सचिव पदका लागि सुरूमा २१ जनाले आवेदन दिएका थिए, जसमध्ये १० जनालाई अन्तरवार्ताका लागि छनोट गरिएको थियो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.