टी-२० विश्वकपको सुपर ८ मा आज पाकिस्तान र श्रीलंका भिड्दै

फाल्गुन १६, २०८२ |खेल ब्युरो
टी-२० विश्वकपको सुपर ८ मा आज पाकिस्तान र श्रीलंका भिड्दै

काठमाडौं । आईसीसी पुरूष टी-२० विश्वकपको सुपर ८ चरणमा पाकिस्तान जटिल रनरेट गणनाको आधारमा मात्रै अघि बढ्न सक्ने अवस्थामा छ। 

आयोजक टोली श्रीलंका यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको अवस्थामा पाकिस्तान शनिबार राति श्रीलंकालाई हराएर सेमिफाइनल पुग्ने झिनो आशामा छ। यी दुई टिमबीचको खेल शनिबार साँझ सवा ७ बजे सुरू हुनेछ।

गएराति इङ्ल्यान्डले न्युजिल्यान्डविरूद्ध पुनरागमन जित निकालेपछि पाकिस्तानका लागि सेमिफाइनल सम्भावनाको ढोका खुला भएको थियो। अहिले न्युजिल्यान्डको नेट रनरेट १ दशमलव ३९ रहेको छ भने पाकिस्तानको शून्य दशमवल ४६१ छ। त्यसैले सलमान आघाको टोली सेमिफाइनलमा पुग्न शनिबारको खेलमा करिब ६४ रनले विजयी हुनुपर्ने छ भने श्रीलंकाले दिएको लक्ष्य करिब १३ ओभर १ बलमा पूरा गर्नुपर्नेछ। 

पाल्लेकेले रंगशालामा पाकिस्तानका लागि यिनै अंक निर्णायक हुनेछन्। बाबर आजमको टी-२० टोलीमा स्थानबारे पहिले नै प्रश्न उठ्दै आएका छन् र यस्ता दबाबपूर्ण समीकरणमा उनको स्ट्राइक रेट झन् आलोचनाको विषय बनेको छ। सन् २००९ यता टी-२० विश्वकपमा पूर्ण सदस्य राष्ट्रविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्दै यति ठूलो अन्तरले जित निकाल्न सकेको छैन्। 

त्यसमाथि श्रीलंकाका पिच भारतका तुलनामा ढिलो र कम स्कोरिङ रहेका छन्। मध्यक्रममा शक्तिशाली हिटरको अभाव र साइम अयुबको कमजोर फर्म पाकिस्तानको अर्को चुनौती हो। यद्यपि, पाकिस्तानका लागि अवसर अझै बाँकी छ। उता श्रीलंकाका लागि अब प्रतिष्ठा मात्र दाउमा छ। 

अस्ट्रेलियामाथिको सानदार जितपछि उचाइ समातेको उनीहरूको अभियान त्यसपछि लगातार तीन हारसँगै ओरालो लागेको छ। सुपर ८ बाट सबैभन्दा पहिले बाहिरिने टोलीसमेत बनेको श्रीलंकाले पाकिस्तानको सेमिफाइनल यात्रामा अवरोध खडा गर्दै आफ्नो सम्मान जोगाउने लक्ष्य राख्नेछ।