टी-२० विश्वकप : सुपर ८ को पहिलो खेलमा पाकिस्तान र न्यूजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै

फाल्गुन ९, २०८२ |खेल ब्युरो
टी-२० विश्वकप : सुपर ८ को पहिलो खेलमा पाकिस्तान र न्यूजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । टी-२० विश्वकपमा शनिबारबाट सुपर ८ सुरू हुँदैछ । 

सुपर ८ को पहिलो खेलमा पाकिस्तान र न्यूजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । श्रीलङकाको कोलम्बोस्थित आर प्रेमादासा स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ सवा सात बजे सुरू हुनेछ । पाकिस्तान समूहमा उपविजेता बनेको थियो । उसले समूहका चार खेलमा तीनमा जित हात पार्दै ६ अंक जोडेको हो । 

अमेरिका, नेदरल्यान्ड्स र नामिबियालाई पराजित गर्दा भारतसँग भने हार व्यहोर्यो । न्यूजिल्यान्डले पनि समूह उपविजेताका रूपमा सुपर ८ मा स्थान बनाएको हो । अफगानिस्तान, यूएई र क्यानडामाथि जित हात पारेको न्यूजिल्यान्डलाई दक्षिण अफ्रिकाले पराजित गरेको थियो । 

न्यूजिल्यान्ड जारी विश्वकपमा पहिलो पटक श्रीलंकामा खेल्दैछ । समूहका सबै खेल उस्ले भारतको अहमदाबाद र चेन्नाईमा खेलेको हो । यी दुई टिम सन् २०२२ अक्टोबरदेखि अप्रिल २०२५ को अवधिमा ४१ पटक आमनेसामने भएका छन् । जस्मा २४ खेल टी-२० आईका समावेश थिए । 

टी-२० विश्वकपमा पाकिस्तान हाबी छ । अहिलेसम्म खेलेका सात खेलमा पाकिस्तानले पाँच र न्यूजिल्यान्डले दुईमा जित हात पारेको छ । टी-२० आईका पछिल्ला दुई खेलमा भने न्यूजिल्यान्ड विजयी भएको थियो । समूहका अन्तिम खेलमा नामिबिया विरूद्ध पाकिस्तानका साहिबजादा फरहानले शतक प्रहार गरेका थिए । 

समूह १ मा भारत, जिम्बाब्वे, वेस्ट इन्डिज र दक्षिण अफ्रिका रहेका छन् । त्यसैगरी, समूह २ मा पाकिस्तान, श्रीलंका, इङ्गल्यान्ड र न्यूजिल्यान्ड परेका छन् । यस पटकको सुपर ८ मा भने कुनै पनि एसोसीएट राष्ट्रहरू अटाउन सकेनन् र सकेका छैनन् । यो चरणमा प्रत्येक टोलीले आफ्नो समूहका अन्य तीन टोलीहरूसँग खेल्नेछन् र प्रत्येक समूहका शीर्ष दुई टोलीहरूले सेमिफाइनलमा स्थान बनाउनेछन् । विश्वकपको प्रत्यक्ष्य प्रसारण कान्तिपुर म्याक्स र म्याक्स-२ मा हुनेछ ।