हिमालयन जाभा नेसनल बास्केटबल लिग फागुन २६ देखि

फाल्गुन ८, २०८२ |खेल ब्युरो
हिमालयन जाभा नेसनल बास्केटबल लिग फागुन २६ देखि

काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा)को आयोजनामा हिमालयन जाभा नेसनल बास्केटबल लिग यही फागुन २६ गतेदेखि सुरू हुने भएको छ ।

नेबाले शुक्रबार पत्रकार सम्मेलन गर्दै एचएनबीएलको दोस्रो संस्करण फागुन २६ देखि चैत २८ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने जानकारी दिएको हो । ३२ दिनसम्म चल्ने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्नेछ । 

जसमा पहिलो संस्करणमा च्याम्पियन भएको टाइम्स इन्टरनेसनल कलेजसँगै उपविजेता गोल्डेनगेट इन्टरनेसनल कलेज, तेस्रो भएको हाउण्ड्स र चौथो भएको कीर्तिपुरसहित त्रिभुवन आर्मी क्लब, सोलो बास्केटबल, रोएल र प्लेबक्स एरेनाले प्रतिस्पर्धा गर्नेछन् ।

आर्मी, सोलो, रोएल र प्लेबक्स गत पुसमा भएको लिनिङ बास्केटबल प्रतियोगिताको शीर्ष चारमा रहेर दोस्रो संस्करणको नेसनल बास्केटबल लिगको लागि छनोट भएका हुन् । डबल राउन्ड रोबिन प्रणालीमा खेलाइने प्रतियोगितामा लिग चरणमा कूल ५६ खेल हुनेछ । 

लिगमा शीर्ष चारमा रहने टोलीहरू प्लेअफमा प्रवेश गर्नेछन् । त्यसपछि सेमिफाइनल र फाइनल खेल हुने नेबाका अध्यक्ष भिम सिंह गुरुङले जानकारी दिए । हरेक दिन दुई खेल हुने र खेलहरू अपराह्न ४ बजे र ७ बजे हुने आयोजकले जनाएको छ । सबै खेलहरू एक्सन स्पोट्‌र्समार्फत राष्ट्रिय प्रसारण गरिने जनाइएको छ।

नेपाली बास्केटबलको व्यावसायिक संरचना विकास गर्नु र खेलाडीहरूलाई थप अवसर र प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्ने लक्ष्यका साथ यो लिग आयोजना गर्न लगिएको नेबा अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा हिमालयन जाभा रहेको छ भने एनसेल पावर्ड बाईमा छ ।

खेलकुदको विकासमा निजी क्षेत्रले पनि सहयोग गर्नुपर्ने र सामाजिक उत्तरदायित्वअन्तर्गत आफूहरूले नेसनल बास्केटबल लिगमा सहयोग गरेको हिमालयन जाभाका ओनर आनन्द गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले एक लाख हात पार्नेछन् । 

यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार राखिएको र त्यसको घोषणा पछि गरिने नेबा अध्यक्ष गुरुङले जानकारी दिए । यस प्रतियोगिताको विजेताले साबा च्याम्पियनसिप खेल्न पाउने पनि गुरुङले जानकारी दिए । 

यस्तै यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूबाट राष्ट्रिय टिम छनोट गरिने पनि उनले बताए ।