
काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलको फ्रेन्चाइज टोली काठमाण्डू गोर्खाजले थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरसँग मिलेर ललितपुरको धापाखेलमा अत्याधुनिक क्रिकेट एकेडेमी सञ्चालन गर्ने भएको छ ।
नेपाली क्रिकेटलाई पेसागत र संरक्षित रूपमा अगाडि बढाउँदै नेपालभरिका युवा खेलाडीहरूलाई अवसर र मार्गदर्शन प्रदान गर्ने उद्दस्यले दुई पक्षबीच एकेडेमी सञ्चालन गर्ने सम्झैता भएको हो । शुक्रबार एक कार्यक्रमबीच सम्झैता पत्रमा काठमाण्डू गोर्खाजका प्रबन्ध निर्देशक अनुभव सिरोहिया र थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरका प्रबन्ध निर्देशक बरूण खड्काले हस्ताक्षर गर्नु भयो ।
थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरले पूर्वाधार, एकेडेमी व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी लिनेछ भने काठमाण्डू गोर्खाजले प्राविधिक नेतृत्व, प्रशिक्षण तथा उच्च तहसम्म पुग्ने स्पष्ट मार्ग प्रदान गर्नेछ । एनपीएलको हरेक सिजन, काठमाण्डू गोर्खाजले क्रिकेट एकेडेमीका कम्तिमा दुईजना खेलाडीलाई योग्यता र प्रदर्शनको आधारमा काठमाण्डू गोर्खाजको एनपीएल टोलीमा समावेश हुने अवसर प्रदान गरिने बताइएको छ भने एकेडेमीले नेपाली राष्ट्रिय क्रिकेटका लागि समेत खेलाडी निर्माण गर्ने लक्ष्य राखेको छ ।
एकेडेमीले आगामी वैशाखदेखि खेलाडीहरूको भर्ना प्रक्रिया सुरू गर्ने छ ।