
काठमाडौं । आगामी महिना आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिताको अक्सनमा पाकिस्तानी खेलाडीलाई भारतीय स्वामित्व रहेका टोलीहरूले विचार नगर्ने संकेत दिएका छन्।
बीबीसीकाअनुसार भारतीय प्रिमियर लिगसँग सम्बन्धित स्वामित्व भएका फ्रेन्चाइजले पाकिस्तानी खेलाडीप्रति चासो नदेखाउने अवस्था रहेको छ। पाकिस्तानका खेलाडीहरूले सन् २००९ यता भारत र पाकिस्तानबीचको कूटनीतिक तनावका कारण आईपीएलमा सहभागिता जनाउन पाएका छैनन्।
त्यसयता भारतीय लगानी भएका टी-२० लिगमा पनि पाकिस्तानी खेलाडीको सहभागिता सीमित बन्दै गएको छ। द हन्ड्रेडका आठमध्ये चार फ्रेन्चाइज म्यानचेस्टर सुपर जायन्ट, एमआई लन्डन, साउदर्न ब्रेभ र सनराइज लिड्स आईपीएल टोली सञ्चालन गर्ने कम्पनीको आंशिक स्वामित्वमा रहेका छन्।
इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड ईसीबीका एक वरिष्ठ अधिकारीले एजेन्टलाई पठाएको सन्देशमा आईपीएलसँग सम्बन्धित टोलीले पाकिस्तानी खेलाडीप्रति सीमित रूचि देखाउने संकेत दिएका छन्। अर्का एक एजेन्टले भारतीय लगानी रहेका टी-२० लिगमा यसलाई अलिखित नियम जस्तै बनाइएको बताएका छन्।
यद्यपि, ईसीबीका प्रमुख कार्यकारी अधिकृत रिचर्ड गोल्डले गत वर्ष द हन्ड्रेड मा सबै राष्ट्रका खेलाडीलाई सबै टोलीले छनोट गर्ने अपेक्षा राखिएको बताएका थिए। उनले टिमहरूलाई स्पष्ट भेदभाव विरोधी नीति रहेको चेतावनीसमेत दिएका थिए।