
काठमाडौं । एसीसी महिला एसिया कप राइजिङ स्टार्समा जितविहीन बनेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ ।
समूह ‘ए’ का तीनै खेल हारेपछि नेपाल प्रतियोगितामा अघि बढ्न सकेको थिएन । प्रतियोगिताबाट बाहिरिए पनि कप्तान पूजा महतोले भने थाइल्यान्ड भ्रमण सिकाइसहित अनुभव ग्रहण गर्ने राम्रो अवसर भएको बताइन् । नियमित कप्तान इन्दु बर्मा फिट नभएका कारण पूजाले टोलीको नेतृत्व गरेकी थिइन् ।
नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’सँग ३० रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा यूएईसँग १८ रन र समूहको अन्तिम खेलमा भारत ‘ए’सँग ७ विकेटको हार बेहोरेको थियो । ८ टोली सहभागी प्रतियोगितामा समूह चरणका खेलहरू सकिइसकेका छन् ।
शुक्रबार सेमिफाइनलका दुई खेल हुनेछन् । भारत ‘ए’ले श्रीलंका ‘ए’ तथा बंगलादेश ‘ए’ले र पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल आइतबार हुनेछ ।