
काठमाडौं । न्यूजिल्यान्ड आइसीसी पुरूष टी-२० विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ ।
समूह चरणको आफ्नो अन्तिम खेलमा क्यानडाविरूद्ध ८ विकेटको जित हात पार्दै न्यूजिल्यान्डले सुपर-८ को यात्रा सुनिश्चित गरेको हो । चेन्नाईस्थित एमए चिदम्बरम रंगशालामा भएको खेलमा टस जित्दै क्यानडाले ब्याटिङ रोज्यो । आक्रामक सुरुआत गरेको क्यानडाले मध्यक्रमका ब्याट्सम्यानहरूबाट भने अपेक्षित रन जोड्न सकेन ।
ओपनर युवराज शर्माले ६५ बलमा ११० रन जोड्दै आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक बनाए । १९ वर्षीय युवराजले विश्वकपमै शतक प्रहार गर्ने कान्छा खेलाडीको कीर्तिमान तोडे पनि क्यानडाका लागि त्यो पर्याप्त हुन सकेन । कप्तान दिलप्रित बाज्वाले ३६ रनको योगदान गरे ।
ओपनरद्वय यवराज र दिलप्रितबाहेक कसैले पनि क्यानडाका लागि फराकिलो योगफल बनाउन सकेनन् । उसले निर्धारित २० ओभरमा १७३ रन बनायो । बलिङमा म्याट हेन्री, ज्याकब डफी, काईल जेमीसन र जेम्स निशमले न्यू-जिल्याणका लागी समान १-१ विकेट लिए ।
१७४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको न्यूजिल्यान्डले रचिन रविन्द्र र ग्लेन फिलिप्सको राम्रो साथ पायो । ओपनर टिम सेरी ६ रनमै आउट हुँदा न्यूजिल्यान्डको टोली दबाबमा परेके थियो । दोस्रो स्थानमा आएका फिन एलेनले ८ बलमा २१ रनको आक्रामक पारी खेलेपछि टोलीले लय समातेको थियो।
त्यसपछि भने, ग्लेन फिलिप्स र रचिन रविन्द्रले ७३ बलमा अजिवित १४६ रनको साझेदारी गरेपछि भने ब्ल्याक क्याप्सले जित सुनिश्चित गर्यो । यो साझेदारी टी-२० क्रिकेटमा न्यूजिल्यान्डका लागि कुनै पनि विकेटका लागि चौथो ठूलो साझेदारीसमेत बनेको छ।
न्यूजिल्यान्डले २९ बल बाँकी छँदै लक्ष्य पूरा गर्दै ८ विकेटको सहज जित दर्ता गर्यो। हारसँगै क्यानडा विश्वकपबाट बाहिरिने चौथो टोली बनेको छ । यता, न्यूजिल्यान्डले भने आफ्नो समूह चरणको अन्तिम खेलमा आएर मात्र सुपर ८ को यात्रा पक्का गर्यो । क्यानडा र न्यूजिल्यान्ड सम्मिलित समूह 'डी'मा दक्षिण अफ्रिकाले यसअघि नै आफ्नो सुपर ८ को यात्रा पक्का गरेको थियो । यद्यपि, उसले यूएईविरूद्ध खेल्न भने बाँकी छ ।