
काठमाडौं । आईसीसी पुरूष टी-२० विश्वकप २०२६ मा अफगानिस्तानले पहिलो जित हात पारेको छ ।
साेमबार सम्पन्न खेलमा यूएईलाई ५ विकेटले पराजित गर्दै अफगानिस्तानले प्राविधिक रूपमा सुपर ८ को झिनो गणीतिय आशा जिवित राखेको हो । यस नतिजापछि दक्षिण अफ्रिका भने आधिकारिक रूपमा सुपर ८ मा पुगेको छ । वेस्ट इन्डिज र भारतपछि सुपर ८ मा पुग्ने दक्षिण अफ्रिका तेस्रो टोली बनेको हो ।
दिल्लीस्थित अरुण जेटली स्टेडियममा टस जित्दै अफगानिस्तानले पहिले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरिरहेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो । आर्यान्स शर्मा शुन्य र कप्तान मोहोम्मद वासिम १० रनमा आउट भएका थिए ।
अलीशान सराफुले ४० रनको योगदान दिए । सोहेब खानले उत्कृष्ट अर्धशतक प्रहार गरे। उनले ४८ बलमा ६८ रनको योगदान दिए। बलिङतर्फ अफगानिस्तानका अजमतुल्लाह उमरजईले ४ विकेट लिए भने मुजीब उर रहमानले २ विकेट झारे। राशिद खानले १ विकेट लिए। यससँगै उनी अन्तर्राष्ट्रिय र लिग गरी टी-२० क्रिकेटमा ७ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बने ।
१ सय ६१ रनको लक्ष्य प्रतिस्पर्धात्मक मानिएको पिचमा अफगानिस्तानले ४ बल बाँकी रहँदा ५ विकेट गुमाएर जित हासिल गर्यो । रहमानुल्लाह गुरबाज शून्यमै आउट भएपछि टोली दबाबमा परेको थियो । इब्राहिम जाद्रानले अर्धशतक प्रहार गर्दै इनिङ्स सम्हालेका थिए । उनले ४१ बलमा ५३ रन बनाए ।
अजमतुल्लाह ओमरजाइले २१ बलमा अविजित ४० रन जोड्दै अफगानिस्तानलाई जित दिलाए । यूएईका लागि जुनैद सिद्दिकी र मुहम्मद अरफानले २-२ विकेट लिए । यस जितसाँगै अफगानिस्तानले अंक तालिकामा महत्वपूर्ण दुई अंक जोडेको छ । यूएईको पनि २ अंक छ ।