एसीसी महिला एसिया कप राइजिङ स्टार्समा नेपालकाे लगातार दोस्रो हार

फाल्गुन ३, २०८२ |खेल ब्युरो
एसीसी महिला एसिया कप राइजिङ स्टार्समा नेपालकाे लगातार दोस्रो हार

काठमाडौं । एसीसी महिला एसिया कप राइजिङ स्टार्समा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । 

आइतबार सम्पन्न खेलमा नेपाल यूएईसँग १८ रनले पराजित भएको हो । ओपनर सम्झना खड्का र कप्तान पूजा महतो दुवैले अर्धशतक प्रहार गर्दै शतकीय साझेदारी गरे पनि नेपाललाई जित दिलाउन सकेनन् । टेर्डथाई क्रिकेट मैदान, बैंककमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि यूएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८९ रनको विशाल योगफल तयार पारेको थियो । 

१ सय ९० रनको चुनौतीपूर्ण लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सकेको थियो । खराब सुरूआत गर्दै २२ रनमा ३ विकेट गुमाएको यूएईका लागि इशा ओजाले सानदार शतक प्रहार गरेकी थिइन् । उनले ६३ बलमा १ सय २५ रन बनाइन् । उनी इनिङको अन्तिम बलमा रनआउट भइन् । 

हिना होचन्दानीले अविजित ४५ रन बनाइन् । इशा र हिना मिलेर चौथो विकेटका लागि १ सय ६७ रनको साझेदारी गरेका थिए । नेपालका लागि मनीषा उपाध्यायले २ विकेट लिँदा कविता कुँवरले १ विकेट लिइन् । ब्याटिङतर्फ ओपनर बिन्दु रावल १६ रन बनाएर आउट भइन् । 

कप्तान पूजा महतो र सम्झना खड्काले दोस्रो विकेटका लागि १०४ रनको साझेदारी गरे । सम्झनाले सर्वाधिक ५८ र पूजाले ५३ रन बनाइन् । सीता राना मगर २२ रनमा अविजित रहिन् । यूएईका लागि सुरशा कोट्टे र हिना होत्चान्दनीले २-२ विकेट लिए ।नेपाल पहिलो खेलमा पाकिस्तान 'ए'सँग हार बेहोरेको थियो ।