
काठमाडौं । आईसीसी पुरूष टी-२० विश्वकप २०२६ मा जिम्बाब्वेले १९ वर्षको लामो प्रतिक्षापछि अस्ट्रेलियालाई पराजित गरेको छ ।
समूह 'बी'अन्तर्गतको खेलमा हेभिवेट अस्ट्रेलिया जिम्बाब्वेसँग २३ रनले पराजित भएको हो। कोलम्बोस्थित आर प्रेमादासा रंगाशालामा अस्ट्रेलियाले टस जित्दै फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै एक सय ६९ रन जोड्यो ।
पावरप्लेमा ४७ रन जोडेको जिम्बाब्वेले बलियो सुरुवात गर्यो । जिम्बाब्वेका मारूमानि र बेनेटले ४५ बलमा ६१ रनको साझेदारी गर्दा उसले बलियो योलफल बनाउन सफल भयो । त्यस्तै, ब्रुल र बेनेटले पनि ५१ बलमा ७० रन को उत्कृष्ट साझेदारी गरेका थिए ।
चौथो स्थानमा आएका कप्तान सिकन्दर राजाले अजिवित १३ बलमा २५ रन जोडे । बलिङमा मार्कस स्टोङनिसि र क्यामरून ग्रिनले समान १-१ विकेट आफ्नो नाम गरे । जवाफी ब्याटीङमा अस्ट्रेलियाले खासै राम्रो प्रर्दशन गर्न सकेन । ऊ तीन बल बाँकी रहँदै एक सय ४६ रन बनाएर अलआउट भयो।
ओपनर जोश इङलिस ८ रनमै आउट भए। कप्तान ट्राभिस हेडले १५ बलमा १७ रन जोडे । क्यामरून ग्रिन र टिम डेभिडलाई शून्यमै गुमाएपछि अस्ट्रेलिया थप दबाबमा देखिएको थियो । अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेल र म्याट रेनस्वले ५९ बलमा ७७ रनको साझेदारी गरे पनि पर्याप्त हुन सकेन । उसले मार्कस स्टोइनिस र बेन द्वारसुसलाई समान ६-६ रनमा गुमायो । म्याथ्यू कुहृनेम्यान शुन्मै बाहिरिएसँगै अस्ट्रेलिया अल आउट भयो।
बलिङमा जिम्बाब्वेका ब्लेसिङ मुजाराबानी र ब्राड इभान्सले उत्कृष्ट प्रर्दशन गरे । मुजाराबानीले ४ ओभरमा १७ रन खर्चंदै ४ विकेट लिए भने, ईभान्सले ३ दशमलव ३ ओभरमा २३ रन खर्चंदै २ विकेट आफ्नो नाम गरे । जिम्बाब्वेका लागि वेलिंग्टन मसाकाद्जा र रायन ब्रुलले समान १-१ विकेट लिए ।
जितसँगै जिम्बाब्वे दुई खेलमा दुई जित हात पार्दै ४ अकंसहित समूह 'बी'को दोस्रो स्थानमा उक्लिएको छ । अस्ट्रेलिया भने दुई खेलमा एक हार र एक जितसहित तेस्रो स्थानमा सीमित रह्याे । यो हारपछि अस्ट्रेलियाका लागि सुपर आठको समीकरण मुस्किल बनेको छ ।
अस्ट्रेलियाले अहिलेसम्म टी-२० विश्वकपमा जिम्बाब्वेलाई पराजित गर्न सकेको छैन । पछिल्लो पटक २००७ को टी-२० विश्वकपमा अस्ट्रेलिया जिम्बाब्वेविरूद्ध स्तब्ध बनेको थियो।