
काठमाडौं । राष्ट्रिय सभाको चालु १९औं अधिवेशन शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी अन्त्य भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालु १९औं अधिवेशन आगामी फागुन १ गते राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गर्नुभएको हो । राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन अन्त्यको औपचारिक जानकारी गराउनु भयो ।
नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ माघ २६ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले सो अधिवेशन अन्त्य गर्नुभएको हो । माघ २९ गते जारी गरिएको पत्रानुसार सम्वत २०८२ साल फागुन १ गते शुक्रबार राति १२ बजेदेखि चालु अधिवेशन स्वतः अन्त्य हुने उल्लेख छ ।
सभाको बैठकमा अध्यक्षले राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउँदै १९औं अधिवेशन शुक्रबार रातिबाट अन्त्य भएको घोषणा गर्नुभयो ।