चुनावको ७२ घण्टाअगावै नेपाल-भारत सीमा नाका बन्द गरिने

माघ २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
चुनावको ७२ घण्टाअगावै नेपाल-भारत सीमा नाका बन्द गरिने

काठमाडौं । सशस्त्र प्रहरीले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७२ घण्टा अगावै नेपाल-भारत सीमा नाका बन्द गर्ने भएको छ ।

शुक्रबार विराटनगरमा सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बल बीच भएको १६औं डीआईजीस्तरीय समन्वय बैठकले निर्वाचनको समयमा सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । बैठकमा सीमा सुरक्षा, सूचनाको आदानप्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रणलगायत विषयमा छलफल भएको सशस्त्र प्रहरी प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । 

बैठकमा सीमा स्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा पनि कुराकानी भएको थियो । त्यसैगरी सीमा क्षेत्रका संभावित नाकाहरू पहिचान गरी त्यसबाट हुनसक्ने खतरा मूल्यांकन गर्ने, शरणार्थी र आप्रवासीहरूको गतिविधिमा निगरानी राख्ने, विभिन्न तह बनाई प्रहरी जाँच र ब्यारिकेड खडा गरिने छ । आपराधिक तत्वहरूबाट हुनसक्ने घुसपैठ कडाईका साथ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा मादक पदार्थ बिक्री वितरण र सेवनमा पूर्णतः बन्देज गर्नेलगायत विषयमा समेत छलफल भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताउनुभयो ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.