
काठमाडौं । करातेकी एरिका गुरूङले अर्को ऐतिहासिक सफलता हात पारेकी छन् ।
टर्कीको इस्तानबुलमा जारी विश्व कराते वान प्रिमियर लिगमा एरिका फाइनल प्रवेश गरेकी हुन् । स्टार एरिकाले, सेमीफाइनलमा इङल्यान्डकी रसेल वाल्टर्सलाई पराजित गरेकी हुन् । महिला ६८ केजी तौल समूहमाथिको पतिस्पर्धामा एरिकाले वाल्टर्सलाई चार एकले हराएकी हुन् ।
अब उनले स्वर्ण पदकका लागि काजख्स्तानकी सोफिया बेरुत्सेभासँग खेल्नेछिन् । फाइनल जिते एरिकाले अहिलेसम्मकै ठुलो सफलता हात पार्नेछिन् । गत वर्ष मरक्कोमा भएको पहिलो सहभागितामा कास्य हात पारेकी थिइन् । यसअघि एसियाली खेलकुदमा एरिकाले स्वर्ण पदकका लागि भएको भिडन्तमा सोफियासँगनै हार बेहोरेकी थिइन् ।
सोफियाले क्रोएसियाकी निकोलिना गोलोम्बोसलाई ३-१ले हराएर फाइनलमा स्थान बनाएकी हुन् । निकोलिना विश्व च्याम्पियनसिपको रजत पदक विजेता पनि हुन् । फाइनल आइतबार साँझ हुनेछ ।