रास्वपा उम्मेदवारसँगकाे छलफलमा बालेन्द्रले भन्नुभयाे- स्पष्ट बहुमतका साथ सरकार हाम्रो बन्दैछ

ढुक्क भएर जनताको घर घरमा जानुस्, समस्या सुन्नुस्
माघ ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
रास्वपा उम्मेदवारसँगकाे छलफलमा बालेन्द्रले भन्नुभयाे- स्पष्ट बहुमतका साथ सरकार हाम्रो बन्दैछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरूसँग रणनीतिक छलफल गर्नुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किनुभएका नेता शाहले आइतबार चुनावी रणनीतिबारे उपत्यकाभित्रका पार्टीका उम्मेदवारसँग छलफल गर्नुभएको हो । नेता शाहले उम्मेदवारहरूसँग चुनावी अभियानबारे ब्रिफिङ लिनुभएको भेटमा संलग्न नेताहरूले बताए । 

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ललितपुर-३ की उम्मेदवार समेत रहनुभएको नेतृ तोषिमा कार्कीले भेटमा चुनावी अभियानबारे नेता शाहले जानकारी लिनुभएको बताउनु भयो । उहाँले भेटमा चुनावी रणनीतिबारे समेत छलफल भएको उल्लेख गर्नुभयो । उहाँकाअनुसार नेता शाहले उम्मेदवारहरूलाई आफूहरूको स्पष्ट बहुमतको सरकार बन्ने भन्दै जनताकाे समस्या बुझ्ने कार्यमा गम्भीरतापूर्वक लाग्न आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘उहाँले हामीहरूसँग अपडेट लिनुभएको हो । अर्को, चुनावी रणनीतिको बारेमा थोरै छलफल भयो । उहाँले स्पष्ट रूपमा भन्नुभएको छ–सरकार हाम्रो बन्दैछ । ढुक्क भएर जनताको घर घरमा जानुस्, समस्या सुन्नुस् । उहाँहरूको समस्या समाधान गर्छौं, हाम्रो स्पष्ट बहुमतको सरकार बन्दैछ ।’

पार्टीकी नेतृ रञ्जु दर्शनाले चुनावी रणनीतिबारे छलफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उहाँले ढुक्क भएर आफ्नो चुनावी क्याम्पेङ गरेर अगाडि बढ्नुस् भन्नुभयो । अन्य चुनावी रणनीतिको बारेमा पनि केही छलफल भयो ।’ रास्वपा नेता तथा काठमाडौं-३ का उम्मेदवार राजुनाथ पाण्डेले निर्वाचन क्षेत्रमा भइरहेको गतिविधिबारे जानकारी गराउन नेता शाहसँग भेट भएको बताउनु भयो । 

उहाँले भेटमा चुनावी रणनीतिबारे छलफल भएको उल्लेख गर्नुभयो । उहाँले आफूहरू सौहार्दपूर्ण वातावरणमा जनताको घरदैलोमा गइरहेको उल्लेख गर्दै नागरिकले परिवर्तनलाई आत्मसाथ गरेको पाइएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘काठमाडौं क्षेत्र नम्बर ३ मा के भइरहेको छ भन्नेबारे रिपोर्टिङको लागि म आएको थिएँ । हामी सौहार्द्रपूर्ण वातावरणमा जनताको घरदैलोमा गएका छौँ । नागरिकले देशमा विकसित राजनीतिक परिवर्तनलाई आत्मसाथ गरेको देखिन्छ । हामीलाई बहुमतले अनुमोदन गर्नुहुन्छ भन्ने विश्वास छ ।’

अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेता शाहले झापा-५ बाट उम्मेदवारी दिनुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.