.png&w=1000&height=550)
काठमाडौं । पोखरा रंगशालाको भलिबल कोर्टमा जारी च्याम्पियनसिपको तेस्रो दिनअन्तर्गत महिला तर्फको खेलमा न्यू डायमन्डले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराएको हो ।
तीन सेटको हारसँगै एपीएफ लगातार दोस्रो खेल जित्नबाट चुक्यो । एपीएफले न्यू डायमन्डविरूद्ध केही चुनैती प्रस्तुत गरे पनि कुनै पनि सेट आफ्नो बनाउन सकेन । न्यू डायमन्डले पहिलो सेट २५-१७ दोस्रो सेट २५-२१ र तेस्रो २५-२३ ले आफ्नो पक्षमा पारेपछि ३ सेटमै न्यू डायमन्डले खेल आफ्नो पक्षमा पारेको हो ।
न्यू डायमन्डले आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई हराएको थियो भने एपीएफले थाइल्यान्ड क्विन्समाथि ५ सेटको जित हात पारेको थियो । महिलातर्फ आजै सम्पन्न अर्को खेलमा थाइल्यान्ड क्विन्सले विभागीय टोली नेपाल पुलिस क्लबलाई पाँच सेटमा स्तब्ध पार्यो ।
सुरूआती २ सेटमा पछि परेको अवस्थाबाट सानदार पुनरागमन गर्दै थाइल्यान्ड क्विन्सले प्रतियोगितामा पहिलो जित हात पारेको हो । सुरूआती २ सेट क्रमस २५-२२ र २५-२० ले आफ्नो पक्षमा पारेको पुलिसले त्यसपछि लय गुमायो । थाइल्यान्ड क्विन्सले प्रतिस्पर्धात्मक तेस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दै पुनरागमन गर्यो ।
चौथो सेटमा पुलिसलाई २५- १४ ले डोमिनेट गरेपछि खेल टाइ-ब्रेकिङ सेटसम्म पुगेको थियो । निर्णयक सेटमा विभागीय टोलीलाई म्याच पोइन्टमा एडभान्टेज लिने अवसर रहे पनि लगातर २ पोइन्ट ड्रप गरेपछि थाई टोलीले १६-१४ को नतिजासहित नाटकीय खेल आफ्नो पक्षमा पार्यो ।
आफ्नो पहिलो खेलमा एपीएफविरूद्ध ५ सेटमा स्तब्ध भएको थाइल्यान्ड क्विन्सले यस खेलमा भने सोही गल्तीलाई दोहोर्याएन । पुलिसले आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई चार सेटमा हराएको थियो । प्रतियोगिताको महिलातर्फ ५ र पुरूषतर्फ ६ टोलीको सहभागिता रहेको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगितामा महिला र पुरूष दुवैतर्फ राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले फाइनल तथा तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।