जसले गाउँमै खेलमैदान निर्माण गरेर प्रतियोगिता आयोजना गरे ‌‍‌

माघ ८, २०८२ |विप्लव भट्टराई
जसले गाउँमै खेलमैदान निर्माण गरेर प्रतियोगिता आयोजना गरे ‌‍‌

इलाम । इलामलाई नेपाली फुटबलको समृद्धि र प्रतिभाको केन्द्र मानिन्छ । खेलाडी उत्पादन, प्रतियोगिता आयोजना र फुटबलको क्रेज यहाँको विषेशता हो । फुटबल भनेपछि हुरुक्क हुने इलामेहरू गाउँगाउँमा खेलमैदान निर्माण गरेरै प्रतियोगिता आयोजना गरिरहेका छन् । फुटबल मोहको पछिल्लो उदाहरण सन्दकपुर ३ को टारी बनेको छ ।

फुटबलप्रतिको मोहले नै विगतका वर्षमा खेतका गरामै प्रतियोगिता आयोजना गर्थे इलामको सन्दकपुर ३ टारीका बासिन्दा । निजी जमिन भाडामा लिएर प्रतियोगिता सञ्चालन गर्दै आएका गाउँबासीले यसपटक भने जमिन खरिद गरेरै मैदान निर्माण गरे । कोशी प्रदेश सरकारको ५ लाख रुपैयाँसहित करिब १२ लाख रुपैयाँ स्थानीयले मैदान निर्माणमा खर्च गरेका छन् ।

करिब १२ रोपनी जमिन खरिद गर्दै चन्दा संकलन गरेरै उनीहरूले फुटबल मैदान निर्माण गरे । गाउँको बीचमा मैदान बन्ने भएपछि स्थानीय र विदेश गएकाहरूले मन फुकाएर साथ दिए । मैदान निर्माण भएपछि माघे संक्रान्तिको अवसरमा टारी गोल्डकपसहित पर्यटन महोत्सव नै सञ्चालन भयो ।

स्थानीय प्रयासमा नै खेल मैदान बनाउने लहर सिंगो जिल्लामा चलेको छ । सन्दनकपुर गाउँपालिकाकै जमुनामा स्थानीयले ३० रोपनी भन्दा धेरै जग्गाको व्यवस्थापन गरेर मैदान निर्माण गरेका छन् । जिल्लाकै नमुना रंगशाला निर्माण गर्ने स्थानीयको उदेश्य छ ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।