नेपाल आयरल्यान्डसँग पराजित

पुस ३०, २०८२ |खेल ब्युरो
नेपाल आयरल्यान्डसँग पराजित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आधिकारिक अभ्यास खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ । 

आफ्नो पहिलो आधिकारिक अभ्यास खेलमा नेपाल ९९ रनको फराकिलो अन्तरले पराजित भएको हो । मुलपानीको तल्लो क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले सानदार ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय रनको विशाल योगफल तयार पारेको थियो ।

सारा फोर्ब्स १५ रनमा बाहिरिँदा कप्तान गेबी लुईससँग मिलेर ५४ रनको ओपनिङ साझेदारी गरेकी थिइन् । यो साझेदारी ऋया शर्माले तोडेकी थिइन् । दोस्रो विकेटका लागि लुईस र ओर्ला प्रेन्डरगास्टबीच ५६ रनको अर्को अर्धशतकीय साझेदारी भयो । लुईसले ३८ बलमा ७७ र प्रेन्डरगास्टले २९ बलमा ६२ रनको आक्रमक अर्धशतकीय योगदान दिए । 

लिआ पलले २१ रन बनाइन् । नेपालविरूद्ध आफ्नो ब्याटिङ गहिराइ परिक्षण गरेको आइरिस टोलीले लुईस, प्रेन्डरगास्ट र पललाई रिटायर्ड आउट गरेको थियो । लौरा डेलानीलाई शून्य र रेबेका स्टोकेललाई ४ रनमा रूबिना क्षेत्रीले आउट गरिन् । अर्लेन केलीले ११ रन बनाइन् । क्रिस्टिना कल्टर रेली ५ रनमा नटआउट रहिन् । नेपालका लागी रूबिनाले २ तथा रिया शर्माले १ विकेट हात पारिन् ।

२ सय १ रनको विशाल लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रन मात्र बनाउन सक्यो । सोमु खड्का डकआउट भइन् । काजल श्रेष्ठले २ रन मात्र बनाउन सकिन् । २५ रनको योगदान दिएकी बिन्दु रावललाई लारा म्यकब्राइनले पवेलियन फर्काइन् । 

उपकप्तान पुजा महतो २ र कप्तान इन्दु बर्माले १२ रन मात्र बनाउन सके । रूबिनाले ४ रन बनाउँदा कविता जोशीले सर्वाधिक २८ रनको योगदान दिए । कविता कुँवर, रोमा थापा र सिता राना मगरले समान ५-५ रन बनाए । राजमती ऐरी १ रनमा अविजित रहिन् । आयरल्यान्डका लागि प्रेन्डरगास्ट, म्याकब्राइड, अर्लेन केली र एमी म्यागुइरले समान २-२ विकेट हात पारे ।

वार्मअप खेलपछि खेलिएको अभ्यास सुपरओभरमा पनि नेपाल पराजित भयो । आजै सम्पन्न अन्य वार्मअप खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई २६ रनले पराजित गर्दा पपुवा न्यु गिनीले जिम्वाब्वेलाई ११ रनले पराजित गर्यो । नेपालले आफ्नो दोस्रो तथा अन्तिम वार्मअप खेलमा शुक्रबार अमेरिकाको सामना गर्ने छ । 

ग्लोबल क्वालिफायर्सको समूह 'बी' मा रहेको नेपालले माघ ४ गते थाइल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्नेछ ।