
काठमाडौं । न्यु डायमन्डकी स्पाइकर प्रतिभा माली राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेकी छन्।
उनले फाइनल खेलसम्म सानदार प्रदर्शन गर्दै आफ्नो टिमलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरिन् । प्रतियोगितामा सात व्यक्तिगत विधामा पुरस्कार दिइएकोमा न्यु डायमन्डले चार विधामा उत्कृष्ट खेलाडीको पुरस्कार जितेको थियो। माली सर्वोत्कृष्ट खेलाडी बन्दा सोही टिमका प्रशिक्षक कुमार राई सर्वोत्कृष्ट घोषित भए।
न्यु डायमन्डकै प्रगति नाथ उत्कृष्ट सेटर बनिन्। उनकै टिममेट सुमित्रा रेग्मी बेस्ट ब्लकर बनिन्। उनले सर्भिसमा पनि उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। तर उत्कृष्ट सर्भरको अवार्ड भने पुलिसकी पुनम चन्दले जितेकी छन्। यसैगरी, पुलिसकै शान्तिकला तामाङ उत्कृष्ट लिबेरो बनिन्। सशस्त्र प्रहरीको एपीएफ क्लबकी मिना सुनुवार उत्कृष्ट स्पाइकर बनिन्।