
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै निर्वाचनको वातावरण बनाउन नसकेको बताउनुभएको छ ।
शुक्रबार बिहान गुण्डस्थित ओली निवासमा पुग्नुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग उहाँले सो कुरा बताउनुभएको हो । निर्वाचनमा जाने कुरामा आफ्नो पार्टी दुविधामा नरहे पनि त्यसका लागि अझै वातावरण बन्न नसकेको कुरा आफूसँगको भेटमा अध्यक्ष ओलीले बताउनुभएको मन्त्री खरेलले जानकारी दिनुभयो ।
भेटवार्ताका क्रममा अध्यक्ष ओलीले व्यवहारिक रूपमा निर्वाचन गराउने वातावरण बनेको छ कि छैन ? भनि सञ्चारकर्मी खरेलसँग जिज्ञासा समेत राख्नुभएको थियो । निर्वाचनमा लागि सुरक्षा चासोका विषयलाई ओलीले आफूसँगको भेटमा विशेष चासो दिएको पनि मन्त्री खरेलले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका सन्दर्भमा उहाँले केही सुरक्षा चासोका विषय राख्नु भएको छ । निर्भयताका साथ चुनावमा भाग लिने, भोट हाल्ने र राजनीतिक दलहर"लाई भाग लिने वातावरण बनाउनु पर्छ । त्यो अझै बनिनसकेको हो कि अझै बढी मिहिनेत सरकारले गर्नुपर्छ भन्ने उहाँको कुरा रहेको छ । र, उहाँले सिद्धान्ततः नेकपा एमाले जनमतलाई मान्ने पार्टी हो, लोकतन्त्रलाई विश्वास गर्ने पार्टी हो । निर्वाचनबाटै फ्रेस म्यान्डेट लिएर अगाडि बढ्नुपर्छ भन्ने कुरा दुविधा छैन । त्यसमा नेकपा एमाले त्यो लाइनमा स्पष्ट रूपमा छ भन्नु भयो । तर अहिले व्यवहारिक रूपमा सुरक्षाको हिसाबले चुनाव गराउने अवस्था छ कि छैन ? भनेर उहाँले चासोहरु राख्नु भएको छ । सुरक्षाको वातावरण बनाउनु पर्यो, निर्वाचनको वातावरण बनाउनु पर्यो भन्ने उहाँको कुरा रहेको छ । त्यो सन्दर्भमा हामीले सरकारको तर्फबाट सुरक्षाको वातावरण बनाउने कुराहरूमा सरकार प्रतिबद्ध छ भन्ने कुरा हामीले राखेका छौँ ।’
त्यस अवसरमा मन्त्री खरेलले अध्यक्ष ओलीलाई निर्वाचनका लागि सुरक्षाको उचित व्यवस्था मिलाउन प्रतिबद्ध रहेको बताउनुभएको थियो ।