
काठमाडौै । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आयोजना हुने भएको छ ।
आज आयोजित एक कार्यक्रमबीच केएनपी निरोलेक पेन्टका कन्ट्री हेड मनोज मिश्र र प्रतिष्ठानकी संरक्षक गमली खड्काले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरे ।
प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र एभरेष्ट भलिबल क्लब गरी ५ टोली सहभागी रहने आयोजकले जनाएका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुने छ । प्रतियोगिताको विजेता टोलीले ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाा पुरस्कार प्रप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरिने छ । विधागततर्फ उत्कृष्ट हुने ७ जनालाई जनही २५ हजार पुरस्कार दिइने छ । हरेक खेलको उत्कृष्ट खेलाडीले १५ हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको उद्घाटन समारोहमा एक जना राष्ट्रिय खेलाडीलाई ५० हजार रुपैयाँ सहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित गरिनेछ ।
पुरस्कार राशि १३ लाख रुपैयाँ रहेको प्रतियोगिताको अनुमानित बजेट करिब ४० लाख रुपैयाँ रहेको आयोजकले जनाएका छन् ।