
काठमाडौं । आगामी फागुनमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदमा कति खेल समावेश हुने भन्ने टुंगो यही आइतबार लाग्ने भएको छ।
राष्ट्रिय खेलकुद परिषद्को एक सय २४औं बोर्ड बैठकले आइतबारसम्ममा राष्ट्रिय खेलकुदका लागि खेल संख्या तोक्ने निर्णय गरेको हो। त्यसैगरी बोर्ड बैठकले सातै प्रदेशमा खेलकुदको तयारीका लागि पत्राचार पनि गर्ने निर्णय गरेको छ। तर सार्वजनिक खरिद नियमावलीमा हुने खरिदको समयले आयोजनामा कति प्रभाव पार्छ भन्ने निर्णय परिषद्को बोर्ड बैठकले गरेको छैन्।
बैठकका लागि यसअघि नै ६ एजेन्डा तोकिएका थिए। त्यसमध्ये एक रहेको प्रतियोगिता सञ्चालन निर्देशिका २०८१ तेस्रो संशोधनसहित पारित भएको छ। यसैगरी, राष्ट्रिय खेलकुदसँगै प्रथम पारा राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि खेल संख्या र खेलाडी कोटाका सम्बन्धमा कार्यकारी समितिले छलफल गरी सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ।
परिषद्लाई विनियोजन भएको चालू आर्थिक वर्षको वार्षिक योजना, कार्यक्रम र बजेट तथा परिषद्को आन्तरिक अनुमानित आय-व्यय विवरण पारित भएको छ । परिषद्को वार्षिक आय ५९ लाख ७१ हजार रूपैयाँ रहेको छ। बैठकले अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा जेन-जी शहीद स्मृति पार्क निमार्ण गर्ने निर्णय गरेको छ। तर, अन्तर्राष्ट्रिय खेलकुद आयोजना गर्दा परिसरमा रहेको ठाउँ अपुग हुने र पार्क बनाउँदा प्रतियोगिता आयोजनाका दौरान शान्ति सुरक्षा नहुने भन्दै खेलाडीका प्रतिनिधिले मन्त्री बब्लु गुप्ताको ध्यानाकर्षण गराएका थिए।
साथै सातदोबाटोमा रहेको अडि-टोरियम हललाई जेन-जी स्मृति अडि-टोरियम हल नामकरण गरिने भएको छ । बैठकले सन् २०२६ मा जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने निर्णय पनि गरेको छ । यस्तै, खो-खो विश्वकपमा रजत पदक जितेको नेपाली खो-खो टिमको पुरस्कारका लागि अर्थ मन्त्रालयमा पठाइएको छ।
अर्थको स्वीकृति आउनासाथ पुरस्कार वितरण गर्ने मन्त्री गुप्ताले बताएका छन्। पुरस्कार झन्डै १६ करोड रूपैयाँ रहेको छ।