तराई-मधेशकेन्द्रित दलले पनि सहकार्यको पहल थाले

पुस १०, २०८२ |दशरथ राई
 तराई-मधेशकेन्द्रित दलले पनि सहकार्यको पहल थाले

काठमाडौै ।  आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नयाँदेखि पूराना दलसम्म सहकार्य र मोर्चाबन्दीको प्रयास गरिरहेका छन् । यहीबेला तराई-मधेशकेन्द्रित दलले पनि सहकार्यको पहल थालेका छन् । तर, सहकार्य कसरी गर्ने भन्ने टुंगो लाग्न भने बाँकी रहेको नेताहरुले जनाएका छन् ।

नयाँ तथा पूराना दलले सहकार्य र मोर्चाबन्दीको पहल तीब्र बनाइरहँदा तराई–मधेशकेन्द्रित दलले पनि सहकार्यको प्रयास थालेका छन् । सिद्धान्त र विचार मिल्नेबीच एकता गर्ने र नमिल्नेसँग मोर्चाबन्दी गरेर अघि बढ्ने टुङगोमा नेताहरु पुगेका छन् । जेन-जी आन्दोलनपछिको परिवर्तित परिस्थितिमा स‌ंघीय लोकतन्त्रिक मोर्चामा आवद्ध दलहरुबीच सिट बाँडफाँट गरेर चुनावी मोर्चामा जाने निर्णय भएको तर मोडालिटीको टुंगो लागिनसकेकोजसपा नेपालका उपाध्यक्ष राजकिश्वर यादवले जनाउनुभएको छ ।

संघीय लोकतन्त्रिक मोर्चामा जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा छन् । मोर्चामा नागरिक उन्मुक्ति, जसपा नेपाल र राष्ट्रिय मुक्ति पार्टीले एउटै चुनाव चिन्हमा लड्ने निर्णय गरिसकेका छन् । राष्ट्रिय मुक्ति मोर्चाले सिद्धान्त र विचार मिल्ने पार्टीहरुवीच एकीकरण गर्ने र नमिल्नेसँग चुनावी मोर्चाबन्दी गरेर जाने विषयमा सहमति भइसकेको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले बताउनुभएको छ ।

संघीय लोकतान्त्रिक मोर्चामा पछिल्लोपटक वृषेशचन्द्र लाल, हृदयेश त्रिपाठी र नेपाल जनमुक्ति पार्टी समेत मिसिएका छन् । तराई–मधेश केन्द्रित दल २०७४ बैशाख ७ गते राष्ट्रिय जनता पार्टी-राजपा गठन गरेर एकजुट भएका थिए । तर स्वार्थ बाझिदा २०७८ मा पुन: विभाजन भएर अलग–अलग धारमा उभिँदै आएका छन् । अप्ठेरो पर्दा एकठाँउमा उभिने र स्वार्थ बाझिदा छुट्टिने प्रवृति मधेशकेन्द्रित दलमा देखिने गरेको छ । आसन्न निर्वाचनमा उनीहरु कसरी अगाडि बढ्छन् संशय बाँकी नै छ । 


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।