
काठमाडौै । टी–२० विश्वकपमा नेपाल फेरी एकपटक पूर्ण सदस्य टिमसँग जितको नजिक पुगेको छ। अघिल्लो विश्वकपको उपविजेता दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो। आज मुम्बईमा ठूलो संख्यामा नेपाली समर्थकमाझ इंग्ल्यान्डसँग ४ रनले पराजित हुँदा नेपाली टिमको ब्याटिङ र बलिङ प्रसंसनीय रह्यो। फिल्डिङमा औषत देखिएको नेपाली टिमको थप एक पार्टनरसिप बन्न नसक्दा सानो अन्तरले पराजित भएको हो।
तेस्रो पटक टी–२० विश्वकपमा सहभागी बनेको नेपाललको नयाँ लक्ष्य छ पहिलो पटक विश्वकपमा टेस्ट राष्ट्रलाई हराउने। त्यसैले वेस्ट इन्डिज र इंग्ल्यान्ड नेपालको समूहमा रहेको पूर्ण सदस्य राष्ट्र भएकाले यि टिमविरुद्ध जित निकाल्न, कुनै गल्तीको छुट हुँदैन थियो।
विश्वकपको आफ्नो पहिलो खेलमा आइतबार, इंग्ल्यान्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्यो। ठूलो टोलीसँगै खेल्दा पहिलो इनिङमा उसलाई कम स्कोरमा रोक्दै लक्ष्य पछ्याउने नेपालका पनि रणनीति हुने गर्दछ। त्यो अवसर पाएको नेपालले इंग्ल्यान्डलाई एक सय ८४ रनमा रोकेको थियो। ७० मिटरको बाउन्ड्री भएको मुम्बईको मैदानमा इंग्ल्यान्डलाई यो स्कोरमा रोक्नु ठूलै कुरा हो।
पावर प्लेमा इंग्ल्यान्डले २ विकेट क्षतिमा ५७ रन बनायो। दोस्रो ओभरमा शेर मल्लले फिल साल्टलाई आउट गराएर विश्वकपमा ड्रिम डेब्यु गरे। विश्व वरीयताको दोस्रो स्थानका साल्टलाई विश्वकपको पहिलो बलमा नै आउट गराउनु उनका लागि सानो कुरा हुँदै होइन्। अर्का युवा बलर नन्दन यादवले जस बटलरलाई २६ रनमा आउट गराए। मिडिल ओभर सुरु हुँदा सन्दीपले टम बान्थमलाई २ रनमा बवेलियनको बाटो देखाइदिए। नेपालले तेस्रो विकेट गिराउँदा कमब्याकको संकेत देखाएको थियो।
तर त्यसपछि कप्तान हेरी ब्रुक र जेकोब बेथलको विकेट लिन निकै संघर्ष गर्नुपर्यो। १४ औं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्न आएका दिपेन्द्र सिंह ऐरीबाट नेपालले चौथो सफलता पायो। बेथलले ३५ बलमा चार चौका र चार छक्कासहित ५५ रनको जिम्मेवारीपूर्ण इनिङ्स खेल्दै इंग्ल्यान्डलाई बलियो स्थितिमा पुग्न सहयोग गरेका थिए। यतिबेला दिपेन्द्रले ७१ रनको पार्टनरसिप तोडे। यो नेपालको अर्को ठूलो सफलता थियो। दिपेन्द्रले साम कुरनलाई २ रनमा बोल्ड गरे। तर हेरी ब्रुकलाई पनि पवेलियन पठाउन संघर्ष गर्नुपयो। हेरीले ३२ बलमा चार चौका र तीन छक्कासहित ५३ रनको सुन्दर इनिङ्स खेले। उनी आउट भएपछि मिडल ओभरको अन्तिम तिर इंग्ल्यान्डको रन बन्ने गति पनि सुस्त भइसकेको थियो।
सरदर ४० को अद्रता भएको मुम्बईमा आज फास्ट बलरलाई सहयोगी हुने पिच थियो। तर नेपालले सो कन्डिसनको भरपुर फाइदा लिन सकेन्। अन्तिम ओभरमा करण केसी २१ रन खर्चिन पुगे। दिपेन्द्र र नन्दनको दुई विकेट यो खेलमा नेपाली बलिङको हाइलाइट्स रह्यो।
तर जितका लागि नेपालले बनाउनु पर्ने लक्ष्य थियो एक सय ८५ रन।
नेपालले यसअघि एसियाली खेलकुदमा भारत विरुद्ध नौ विकेट क्षतिमा सर्वाधिक एक सय ७९ रन बनाएको थियो। आज जित निकाल्न नेपाली क्रिकेट टिमले पूर्ण सदस्य राष्ट्रविरुद्ध अहिलेसम्मकै धेरै रन बनाउनु आवश्यक थियो। त्यसका लागि शीर्ष क्रमबाटै जिम्मेवारीपूर्ण पारी आवश्यक थियो। कुशल भुर्तेल र आरिफ शेखले त्यो जिम्मेवारी उठाउने प्रयास पनि गरे। तर फास्ट बलर लियम डसनको बल आशिफको ब्याटको एजमा लाग्यो, उनी क्याचआउट भए। सुरुआतबाटै आक्रामक पारी खेल्ने प्रयास गरेका कुशल भुर्तेललाई भने विल ज्याकले कट एन्ड बोल्ड गरे। ओपनरले गर्न नसकेको काम भने रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीको जोडीले गर्न सक्यो। उनीहरुले छैटौं ओभरबाट खेललाई १५ औं ओभरसम्म डोर्याएका थिए। साम कुरनले ४४ रन बनाइसकेका दिपेन्द्रको विकेट लिँदै इंग्ल्यान्डलाई खेलमा फर्काए। रोहित र दिपेन्द्रले ८२ रनको साझेदारी गरे। दिपेन्द्रले सात र रोहितले चार बाउन्ड्री प्रहार गरे। आउट हुनुअघि रोहितले ३९ रनको योगदान गरेका थिए। चार विकेट गुमाएसँगै नेपालको तनाब बढ्न सुरु भएको थियो।
तर त्यो तनाबलाई लोकेश बमले नेल बिटिङ फिनिससम्म पुर्याएका थिए।
आरिफ १० रनमै आउट भए पनि २ ओभर बाँकी रहँदा नेपाललाई २४ रन आवश्यक थियो। यतिबेला लोकेशले १० बलमा २० रन बनाएका थिए। अन्तिम ओभरमा नेपाललाई १० रन आवश्यक थियो। बलिङमा थिए साम कुरन। जित निकाल्न सक्यो भने नेपालको नाममा इतिहास बन्दै थियो। गुल्सन एक रनमै आउट भएपछि लोकेशसँग करण केसी क्रिजमा आएका थिए। अन्तिम २ बलमा छक्का प्रहार गर्न नसक्दा नेपाल चार रनले पराजित भयो। २० बलमा ३९ रन बनाएका लोकेशको आक्रामक प्रदर्शन यो हारसँगै लुक्यो।
इंग्ल्यान्डले कठिन जितसँगै २ अंक सुरक्षित गर्यो। नेपालले अब बिहीबार इटालीसँग खेल्दा जितको आशा अझै धेरै हुनेछ।