
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि २४ दिन बाँकी रहेको छ । राजनीतिक दलहरुले चुनावी गतिविधि तिब्र पारेका छन् भने निर्वाचन आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ केन्द्रित रहेको छ ।
निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको हो । मतदातालाई मताधिकारका सचेत गराउने तथा सही मतसङ्केतका लागि प्रशिक्षित गर्ने उद्देश्यले निर्वाचन आयोगले डिजिटल प्लेटफर्ममा निरन्तर सचेतना सामग्री सम्प्रेषण गरिरहेको छ । मतदातालाई सही र वास्तविक सूचना प्रदान गर्ने तथा मत बदर हुने अवस्थालाई कम गर्न शिक्षा कार्यक्रम अगाडि बढाइएको आयोगले जनाएको छ ।
प्रभावकारी मतदाता शिक्षाले मतदातालाई मतदान प्रक्रिया, मतसङ्केत र मिथ्या सूचना पहिचान गर्ने क्षमता अभिवृद्धि हुने तथा स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय निर्वाचन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोगले विश्वास लिएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि तय भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ सदस्य र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।